
पोखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताएका छन्। विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको भन्दै उनले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने बताएका हुन्।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहका प्रमुख अतिथि भट्टले मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो योगदान रहेको बताए।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आध्यात्मिक शैक्षणिक संस्थाका रुपमा रहेको बताउँदै उनले मानवमूल्यहरुको पुनस्थार्पनाद्वारा मूल्यनिष्ठ समाजको निर्माणार्थ यसले काम गरिरहेको पाएको उल्लेख गरे।
विश्वका डेढ सय बढी देशमा आफ्ना सेवा केन्द्रहरुको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य तथा तनावमुक्त जीवन,नैतिक मूल्य एवं मानवीय संस्कारको निर्माण गर्न विशेष भूमिका निर्वाह गरिरहेको बताए।
