पोखरा, दाङ र काठमाडौँमा ‘एआई स्किल फेस्ट नेपाल’ आयोजना गर्दै माइक्रोसफ्ट, एक हजार सहभागी हुने

Share:

काठमाडौँ। माइक्रोसफ्टले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्दै ‘एआई स्किल फेस्ट नेपाल’ आयोजना गर्ने भएको छ। एआई सम्बन्धी सीप अभिवृद्धिका लागि आगामी ८ अप्रिलमा एक दिने कार्यक्रम आयोजना गरिनेछ।

राष्ट्रिय आविष्कार केन्द्र, पोखराका निर्देशक इन्द्र ओलीका अनुसार यो कार्यक्रम भौतिक रूपमा काठमाडौं, पोखरा र दाङमा सञ्चालन हुनेछ। यसअघि नै यी सहर निश्चित भए पनि कार्यक्रम कहाँ हुन्छ भन्ने तय भइसकेको थिएन।

अहिले भने तीनै सहरका ठाउँहरू निश्चित भएका छन्। उनका अनुसार पोखरामा यो कार्यक्रम पोखरा इभेन्ट सेन्टर, श्रीकृष्ण मार्गमा हुनेछ। त्यस्तै दाङमा राप्ती टेक्निकल कलेज र काठमाडौंमा सनवे कलेजमा कार्यक्रम हुने तय भएको छ।

यो कार्यक्रम काठमाडौं, पोखरा र दाङमा भौतिक रूपमा सञ्चालन हुनेछ। पोखरा इभेन्ट सेन्टर, राप्ती टेक्निकल कलेज (दाङ) र सनवे कलेज (काठमाडौं) लाई स्थानका रूपमा तय गरिएको छ।

पोखरामा ५००, काठमाडौंमा ३०० र दाङमा २०० गरी कूल एक हजार जनालाई यस कार्यक्रममा सहभागी बनाउने केन्द्रको लक्ष्य छ। इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर फारमभरी भौतिक रूपमा सहभागी हुन सक्नेछन्।

भौतिक कार्यक्रममा सहभागीहरूले एआईका आधारभूत पक्ष, भविष्य, प्रयोगका विधि र व्यवहारिक उपयोगबारे सिक्न पाउनेछन्। साथै, ५० दिनसम्म अनलाइन सेसन सञ्चालन गरिनेछ, जसमा भौतिक रूपमा उपस्थित नभएकाहरू पनि सहभागी हुन सक्नेछन्।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनका अनुसार माइक्रोसफ्टसँग सहकार्य गरी यो कार्यक्रम नेपालमा सञ्चालन गर्न इन्जिनियर हरिकृष्ण न्यौपानेले महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनी हाल माइक्रोसफ्ट बेलायतमा प्रिन्सिपल सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
Share: