
पोखरा। पोखराको पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्वियुका विष्णु पोखरेलेको प्यानलनै विजयी भएको छ।
चैत १० गते सम्पन्न स्ववियु निर्वाचनको आज विहान सम्पन्न मतगणनामा एमाले निकट अनेरास्ववियुका पोखरेल दोब्बर बढी मतान्तरसहित अध्यक्षमा विजयी भएका हुन् ।
पोखरेलले एक हजार एक सय पाँच मत प्राप्त गर्दा निकटतम प्रत्याशी नेपाल विद्यार्थी संघका सुशिल न्यौपानेले पाँच सय तीन मत पाए।
स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले चार सय ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा. रामचन्द्र पोखरेलले जानकारी दिए।
यसैगरी अखिल क्रान्तिकारीका नवीन अधिकारीले दुई सय २३, संयुक्त प्यानलका सन्तोष पौडेलले एक सय ९६ र अखिल छैठौंका मिलन सुनारले २८ मत पाए। सचिवमा अनेरास्ववियुका विराट दुवाडी एक हजार चार सय १३ मतसहित विजयी भए।
नेविसंघका विवेक भट्टराईले छ सय २८ र अखिल क्रान्तिकारीका मिराज थापा मगरले दुई सय ९३ मत पाए। कोषाध्यक्षमा सन्दिका गुरूङ एक हजार तीन सय चार मत सहित विजयी हुँदा नेविसंघका अमिषा यादवले छ सय ४७ मत ल्याए।
पृथ्वीनारायण क्याम्पसमा एमाले निकटको अनेरास्ववियुले निर्वाचन जित्दै आएको छ। कूल नौ हजार दुई सय ७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा दुई हजार नौ सय ८७ विद्यार्थीले मतदान गरेका थिए।


