तेस्रो ईक्यान शैक्षिक मेला शुरु

Share:

रेम बिक / पोखरा, १ भदौ | नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजनामा मंगलबारदेखि तेस्रो सँस्करणको वृहत शैक्षिक मेला पोखरामा शुरु भएको छ । पोखरा सभागृहमा भएको मेलाको मंगलबार चर्चित हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे ।

3 Ecan fair starts (1)

उद्घाटन गर्दै हाँस्यकलाकार जोडी मध्येका एक मदनकृष्ण श्रेष्ठले अभिभावकहरुलाई समयअनुसारको शिक्षा लिने वातावरण मिलाईदिन सुझाव दिए । ‘अहिलेको समयअनुसार कै शिक्षा आफ्ना छोराछोरीहरुलाई पढ्ने वातावरण बनाईदिनु नै अभिभावकको धर्म हो ।’ उनले भने–‘विद्यार्थीलाई समयअनुसार पढ्ने वातावरण मिलाईदिएको खण्डमा मात्रै दक्ष जनशक्ति उत्पादन हुने र, त्यसले देशको विकासमा प्रत्यक्ष प्रभाव पार्ने हुन्छ ।’ साथै उनले शैक्षिक परामर्श केन्द्रहरुलाई विद्यार्थीलाई विदेश अध्ययनका लागि मात्र नभई उनीहरु दक्ष भैसकेपछि नेपाल फर्कनुपर्छ भन्ने खालको परामर्श दिन सुझाव दिए ।

त्यस्तै अर्का कलाकार हरिवंश आचार्यले अभिभावकहरुलाई आफ्ना छोराछोरीले अध्ययन गर्ने विषय छनौटको क्रममा हस्तक्षेप नगर्न सुझाए । अभिभावक र छोराछोरीको चाहना एउटै विषयमा नहुँदा धेरै विद्यार्थीहरुले आफ्नो पढाई बिगारेको उल्लेख गर्दै उनले विद्यार्थीकै चाहनाअनुरुपको विषय छनौट गर्न स्वतन्त्र छाडिदिन आग्रह गरे । आफ्नै उदाहरण दिँदै उनले भने–‘मेरा बुवाआमाले मलाई पण्डित बनाउन चाहनुहुन्थ्यो । तर म कहिल्यै पण्डित हुन चाहिन । मेरो रोजाई कलाकारिता मै थियो । त्यसैले मेरो पढाई त्यति राम्रो हुन सकेन ।’

3 Ecan fair starts (4)

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष राजेन्द्र बरालले सरकारी शैक्षिक नीति गतिलो नभएको कारणले नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययनका लागि जानुपरेको बताए । ‘हामी नेपाली विद्यार्थीहरुले चाहनेको विषय देशमै पढ्न पाऊन् भन्ने चाहन्छौँ । तर सरकारी तवरबाट हाम्रो सोँचलाई साथ दिने कुनै शैक्षिक नीति बनेको छैन ।’ उनले भने–‘यदि हामीले भनेजस्तो हुने हो भने हामीले उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीलाई विदेश होईन, विदेशबाट नेपालमा पढ्नका लागि विद्यार्थीहरु नेपाल ल्याउँछौँ ।’

त्यस्तै जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले ईक्यान कास्कीले गरेको शैक्षिक मेलाले पोखरामा शैक्षिक माहौल बढाएको बताए । उनले शैक्षिक स्तर वृद्धि गराउनका लागि जिल्ला शिक्षा कार्यालय कास्कीले ईक्यानसँग आवश्यक सहकार्य सदैव गर्ने विश्वास दिलाए ।

ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले अघिल्ला दुई सँस्करणको शैक्षिक मेलाको तुलनामा अझै व्यवस्थित तवरले विद्यार्थी र अभिभावकलाई परामर्श दिने गरि मेलामा व्यवस्थापन मिलाईएको ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले बताएका छन् ।

3 Ecan fair starts (5)

कार्यक्रममा मेला सँयोजक मिलन तिवारीले स्वागत मन्तब्य राखेका थिए । संस्थाका सचिव सन्दीप अर्यालले कार्यक्रम संचालन गरेका थिए । त्यसअगाडि मह जोडीले ईक्यानले तयार पारेको ‘बुकलेट’ समेत सार्वजनिक गरेका थिए । बुकलेटमा स्टलमा रहेका सम्पूर्ण शैक्षिक परामर्श केन्द्रहरुको बारेमाा जानकारी दिईएको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलीया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

3 Ecan fair starts (2)

शैक्षिक मेलामा ५७ वटा स्टल तथा ६ वटा पाभिलियन रहेका छन् । तीन दिने मेला सम्पन्न गर्नका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान लगाएको छ । ईभेन्ट म्यानेजमेन्ट कम्पनी ‘वानअप’ले तीनदिने मेलाको व्यवस्थापनको जिम्मा लिएको छ । यस अगाडिका दुई वटा सँस्करणका मेलालाई पनि वानअपले नै व्यवस्थापन गर्दै आएको थियो ।

तेस्रो सँस्करणको वृहत शैक्षिक मेलाको टाईटल स्पोन्सर एक्सेस एजुकेशन नेटवर्क प्रालिले गरेको छ । बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा भएको शैक्षिक मेलाको मुख्य प्रायोजकको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट रहेको छ । सपोर्टेड बाई टाईटलमा थर्ड आई एजुकेशन रहेको छ । त्यस्तै अन्य प्रायोजकहरुमा डेल्टा एडुकेयर नेपाल, मिराकल ईन्स्टिच्यूट, ट्रिनिटी एजुकेशन फाउन्डेशन, एजुकेशन स्टडी लिंक, कँगारु एजुकेशन फाउन्डेशन, अर्बिट ईन्टरनेशनल र क्विन्सफोर्ड कलेज रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: