
पोखरा। गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८२ मा नेपाल सरकारले निर्णय गरेका वाहेक थप ४ दिन बिदा दिने भएको छ।
प्रदेशको चैत १२ गते बसेको मन्त्रिपरिषद बैठकले ४ दिने बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए।
सरकारले उक्त निर्णय राजपत्रमा समेत प्रकाशित गरिसकेको छ। उपसचिव ढकालका अनुसार भानु जयन्तीका दिन असार २९ गते आइतबार, कोजाग्रत पूर्णिमाका दिन असोज २० गते सोमबार, गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते बिहीबार र चैते दशैं २०८२ साल चैत १२ गते बिहीबार गरी ४ दिन बिदा दिने निर्णय भएको छ।
गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा लागु हुने उपसचिव ढकाले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ।
प्रदेश सरकारीले यो वर्ष मंसिर २२ गते प्रदेश स्थापना दिवस मनाउँदा अघिल्लो दिन मात्र बिदाको निर्णय गरेको छ।
अघिल्ला वर्षहरुमा प्रदेश सभा र प्रदेश स्थापना दिवस अलग मनाउँदा फागुन ४ गते सरकारले बिदा दिने गरेको थियो।

