
पोखरा। राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले आयोगले भूमिहिन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडि बढाएको बताएका छन्।
नमुनाटोल सुधार समिति पोखरा-१७ द्धारा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै उनले नेपाली भएरपनि पुस्तौदेखि जग्गाको मालिक बन्न नसकेका भुमिहीन परिवारलाई जग्गाको मालिक बनाउने पहिलो प्राथमिकता रहको बताए।
“आयोगले समाजका सुकुम्वासी, दलित, भूमिहीन तथा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण गरेर एक पटक भूमिको मालिक बनाउने छ” उनले भने,“कानूनी प्रकृया पुरा भएका दुई हजार भन्दा बढीलाई लालपुर्जा वितरण गर्ने तयारीमा आयोग जुटेको छ।”
विगतका आयोगले अव्यवस्थित वसोवासीलाई महत्व दिएर एकै व्यक्तिलाई ठूलो परिणामको जग्गाको निशा प्रदान गरेको बताउँदै उनले त्यस्ता जग्गाका सम्वन्धमा छानविन गरिने बताए।
प्रत्येक आयोगका अध्यक्षले हामी जस्ता अव्यवस्थित वस्तिमा आएर लालपुर्जा वितरण गर्ने आशा देखाएपनि अहिलेसम्म धेरैले जग्गाको मालिक नभई निधन भएको स्थानीयको गुनासोमा उनले प्रकृया मिलाएर जग्गाधनी पुर्जा वितरण गरिने प्रतिवद्धता व्यक्त गरे।
नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् वडा ईन्चार्ज सुभाष ढुङ्गानाले पोखरा १७ रहेका विभिन्न आठ वटा सुकुम्वासी वस्ति रहेको बताउँदै कास्की आयोगले यस्ता वस्तिबाट लालपुर्जा वितरणको प्रकृया सुरुवात गर्नुपर्ने माग गरे।
सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले नेपालमा श्रमजिवी वर्ग भूमिहीन रहेको बताउँदै श्रम गरेर जिविकोपार्जन गर्ने परिवारको नाउमा घर जग्गा नहुदा डिलभिर र खोलाको छेउछाउको जोखिमयुक्त सार्वजनिक जग्गा पुस्तौदेखि वस्दै आएको बताए।
त्यस्ता वर्गलाई जग्गाको मालिक वनाएर उनीहरुलाई करको दायरामा ल्याउन सके राजश्वमा समेत बृद्धि हुने विश्वास उनको थियो ।
इलाका प्रहरी कार्यालय छोरेपाटनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर थापामगरले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र स्थानीय समुदायिकको सामुहिक प्रयासको खाँचो औँल्याए।
टोल सुधार समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी दानबहादुर शाही, टोलका संस्थापक अध्यक्ष अमरसिंह ठकुरी,उपाध्यक्ष लोकवहादुर सेन ठकुरी, सुमना गुरुङ लगायतले भूमिहीनले समाजमा व्यहोर्दै आएका समस्याका वारेमा प्रकाश पारेका थिए।
२०६३ साल मंसीर १३ गते उक्त सार्वजनिक जग्गामा ६२ घर परिवार वसोवास गर्दै आएका उनीहरुले विभिन्न क्षेत्रमा श्रम गरेर जिविकोपार्जन गर्दै आएका छन्।
