आजदेखि रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने

437
0
Share:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन्। लामिछानेलाई पार्टीको जिम्मेवारीमा फर्काउन रास्वपाले आज अपराहन्न ३ बजे केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ।

आज नै दोस्रो बैठकको नेतृत्व लामिछानेले गर्ने रास्वपाले जानकारी दिएको छ। लामिछाने पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको सभापतित्व उपसभापति अर्यालले गरेका थिए।

शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो। सहकारी ठगीको आरोपमा चार जिल्ला अदालतमा मुद्दा झेलिरहेका लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।

पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो।

सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। पर्सा जिल्लामा अनुसन्धान भइराखेकाले अहिलेसम्म मुद्दा दायर गरेको छैन। लामिछाने चार जिल्ला अदालतबाट कुल दुई करोड ७९ लाख धरौटी जम्मा गरेर हिरासत बाहिर रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: