पोखरा २८ मा कोक्यापको परामर्श कार्यक्रम

Share:

पोखरा । पोखरा महानगरपालिका-२८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एवम् दिगो सामाजिक-आर्थिक विकासका लागि रणनीतिहरू विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै गैसस महासंघका निवर्तमान अध्यक्ष तथा गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले यस्ता महत्वपूर्ण छलफलले साँच्चै नै विकास निर्माण तथा आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान रहने बताए।

कार्यक्रममा पोखरा महानगरपालिका-२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले शान्तिका लागि साझा अभियान कोक्यापले आफ्नो कार्यक्रमका लागि पोखरा-२८ लाई छनोट गरेकोमा कोक्यापलाई धन्यवाद दिए।

उनले समग्रमा पोखरा-२८ मा विकास निर्माण तथा कृषिको प्रचुर सम्भावना रहेको भए तापनि विभिन्न कारण जस्तै खानेपानी, बाँदर आतंक लगायत अन्य कारणले त्यहाँका जनताहरूलाई अप्ठ्यारो परेको र यसमा वडाले आफ्नो तर्फबाट दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए।

कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले प्रशिक्षण दिँदै पोखरा-२८ मा कृषि लगायत विभिन्न क्षेत्रका सम्भावना रहेको बताउँदै विविध विषयमा प्रशिक्षण दिएका थिए।

शान्तिका लागि साझा अभियान कोक्यापका अध्यक्ष वीरबहादुर किसानको अध्यक्षतामा सम्पन्न परामर्श कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य मनोहरि पौडेल, कृषि सञ्जाल पोखरा-२८ का अध्यक्ष राधाकृष्ण तिवारी, सहजकर्ता तथा अध्ययनकर्ता बबिन नेपालीलगायतले कार्यक्रममा बोलेका थिए।

सहजकर्ता केशु भुजेलले सञ्चालन गरेको कार्यक्रममा कोक्यापका कार्यक्रम संयोजक सुसिला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: