
पोखरा। गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्तिपत्र प्रदान गरेका छन्।
कास्कीकै लेखनाथका प्राडा. इन्द्रप्रसाद तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुन्। उनीसँग देशविदेशमा रहेर विभिन्न दातृ निकायहरुमा काम गरेको लामो अनुभव छ।
यसअघि कुलपति सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्रीलाई बुझाइएको थियो। विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा. कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घलेले चैत २१ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको नाम सिफारिस गरेका थिए। ३ जनामा प्राडा. तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा. सरोज कोइरालाको नाम थियो।
कुलपतिका लागि ७ जनाले आवेदन दिएको भए पनि ५ जनाको मात्र स्वीकृत भएको थियो। आवेदन स्वीकृत हुनेमा प्राडा. कुसुमाकर न्यौपाने र प्राडा. नवराज देवकोटा समेत थिए। देवकोटा गण्डकी विश्वविद्यालयकै बहालवाला उपकुलपति हुन्।
