प्रथम एलिट भलिबल कपः महिलातर्फ सेमिफाइनल समिकरण पूरा

Share:

पोखरा । प्रथम एलिट भलिबल कपमा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ। एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा-३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ बागलुङ नगरपालिका र शान्ता भलिबल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।

शनिबार भएको पहिलो खेलमा शान्ता भलिबलले स्काई ब्लु लामाचौरलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। यस्तै बागलुङ नगरपालिकाले एलिट भलिबल ‘बी’ लाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

यसअघि एलिट भलिबल ‘ए’ र पृथ्वीनारायण क्याम्पसले सेमिफाइनलमा स्थान बनाएका थिए। आइतबार महिलातर्फ सेमिफाइनलका खेल हुनेछन्। पहिलो सेमिफाइनल बिहान ८ बजे एलिट भलिबल ‘ए’ र पिएन क्याम्पसबिच हुनेछ। त्यसपछि दोस्रो सेमिफाइनल शान्ता भलिबल र बागलुङ नगरपालिकाबिच हुने आयोजकले जनाएको छ।

पुरुषतर्फ भएको खेलमा पिएन क्याम्पस र गलकोटको टोली विजयी भएका छन्। पिएनको टोलीले पोखरा भलिबल टेनिङ सेन्टर र गलकोटले नेवारी खाजा घर टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। आइतबार महिलातर्फका दुई खेलपछि पुरुषतर्फका खेल सुरु हुनेछ।

पुरुषतर्फको पहिलो खेल पर्वत र बिजी देउराली युथ क्लब, रुपा गाउँपालिकाबिच हुनेछ। त्यसपछि पकुवा पर्वत र स्याङ्जाबिच हुने आयोजकले जनाएको छ। तेस्रो खेल ब्रदरहुड नवलपुर र लाफा गाईज, चौथो एलिट भलिबल एकेडेमी र साजपानी म्याग्दी तथा पाँचौं गुरुङ गाइज र पिएन क्याम्पसबिच हुने तालिका छ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

कमेन्ट गर्नुहोस्
Share: