वीरगञ्ज झडपमा एसपी गौतम मिश्रसहित १७ प्रहरी घाइते, भोलि १२ बजेसम्मका लागि कर्फ्यु

Share:

काठमाडौँ। पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई धार्मिक समूहबीच भएको झडपमा परेर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन्।

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप भएको थियो। झडपपछि अहिले साँझ साढे ७ बजेदेखि वीरगञ्जमा कर्फ्यु लगाइएको छ।

उक्त झडपमा परेर १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका-२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो।

प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप भएको बताइएको छ। अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो। झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो।

सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिरि निकालेर आगजनी भएको प्रहरीले जनाएको छ।अवस्था असामान्य बन्दै गएपछि करिब ६ बजेर १० मिनेटमा प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो।

भोलि (आइतबार) १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ।

कमेन्ट गर्नुहोस्
Share: