बेबिलोनको झुलन बगैंचाको झल्को दिने तनहुँको घाङ्च ल्हुम

Share:

पोखरा । तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित घाङ्च ल्हुम झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ को जस्तो झल्को दिन्छ। त्यहाँ पुग्ने जो कोही पर्यटकले घाङ्च ल्हुमको दृश्यलाई प्राचीन विश्वका सात आश्चर्यका रुपमा लिइने बेबिलोनको झुलन बगैँचासँग तुलना गरेर हेर्ने गरेका छन्। इशापूर्व छ सयमा राजा नेबुचाडनेजारले आफ्नी रानी खुसी पार्न निर्माण गरिएको झुलन बगैंचाको स्वरुप यस्तै किसिमको रहेको इतिहासका पुस्तकमा राखिएका तस्बिरमार्फत जान्न र बुझ्न पाइन्छ।

घाङ्च ल्हुम परिसरमा अग्ला अग्ला ढुङ्गाहरू, जसका तल छपक्क मिलाएर ढुङ्गा छापेर पैदल हिड्ने बाटोहरू निर्माण गरिएको छ भने चराचुरुङ्गीका लागि ठाउँ ठाउँमा गुँड र पानी खानका लागि सानासाना पोखरी पनि बनाइएको छ। पार्क पसिरमा नै काठबाट निर्माण गरिएको चम्राली पिंग पनि छ।

विगतमा प्रचारप्रसार र बुझाइका कारण ओझेलमा परेको यो गन्तव्यलाई पछिल्लो समयमा भने संरक्षण र प्रवद्र्धन गर्न थालिएको भिमाद नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रनबहादुर थापाले जानकारी दिए। मोहरियास्थित सामुदायिक बनमा अवस्थित घाङ्च ल्हुम बनको भित्री भागमा रहेको छ। घाङ्च ल्हुमलाई साजसज्जा गरेर चिटिक्क पारेसँगै यो स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको उनले बताए।

मगर जातिको बाहुल्यता रहेको यस स्थानमा रहेको घाङ्च ल्हुम पनि मगर भाषाकै शब्द हो।मगर भाषमा घाङ्च ल्हुमको अर्थ अग्लो ढुंगा हुन्छ। अग्ला ढुङ्गाहरू रहेकै कारण यसलाई घाङ्च ल्हुम भनिएको यहाँका स्थानीयवासी बताउँछन्। अग्लाअग्ला ढुङ्गालाई चटक्क सिंगारेसँगै विगतमा उपेक्षा गरिएका यी ढुङ्गाले देश विदेशका मानिस आकर्षित गर्दा आँफूहरू निकै खुसी बनेको स्थानीयवासी भक्तबहादुर थापाले बताए।

वडा अध्यक्ष थापाका अनुसार २०७७ सालमा गण्डकी प्रदेश सरकारको सहयोगमा सो मातहतको डिभिजन बन कार्यालय तनहुँले यस स्थाललाई पार्कका रुपमा निर्माण गरिदिएको हो। गण्डकी प्रदेशको २० लाख रुपैयाँ सहयोगसँगै स्थानीयको १० प्रतिशत लागत साझेदारीमा निर्माण भएसँगै यो ठाउँले काँचुली फेरेको उनको भनाइ छ।

यसलाई बगैंचाको रुप दिन ढुङ्ग वरपरको बुट्यान तथा झाडी फाँडिएको थियो। झाडी फाँडिएसँगै आकर्षण देखिएका अग्ला ढुङ्गाको बीच तथा वरपर ढुङ्गा छापेर हिड्ने पैदल मार्ग निर्माण गरिएको छ। त्यस्तै परिसरमा धुपीका विरुवा रोप्नुका साथै ढुङ्गाको बीच बीचमा चराचुरुङ्गीका लागि गुँड र पानी पिउने साना पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने किसिमको संरचना पनि बनाइएको छ। यी सबै दृश्यका कारण पछिल्लो समयमा यो स्थान सामाजिक सञ्चालमार्फत चर्चामा आएको हो। भिमाद बजारबाट जम्मा १३ किलोमिटरको दुरीमा सवारीसाधन मार्फत यस ठाउँमा आउन सकिन्छ।

भिमाद क्षेत्रमा रहेका धेरै गन्व्यहरू प्रवद्र्धनको पर्खाइमा रहेको यहाँका स्थानीयवासी बताउँछन्। घाङ्च ल्हुम, सिद्ध गुफा, चमेरे गुफा, पाथर्दी झरना जस्ता धेरै स्थलहरूको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने नेपाली काँग्रेस तनहुँ क्षेत्र नं २ का सभापति चुडामणि खनाल बताउछन्। पर्यटकीय स्थलको प्रवद्र्धनसँगै पर्यटकको आगमन बढाउन सकेमा त्यसले स्थानीय उत्पादनको बजारीकरणसँगै स्वरोजगार अभिबृद्धिका धेरै अवसर भित्राउन सकिने उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: