
पोखरा। कास्कीको रुपा गाँउपालिका-७ स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्याक्लुङ्कोट होमस्टे’ (घरवास) सञ्चालनमा आएको छ। जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतिमा आधारीत होमस्टे सञ्चालनमा आएको हो।
होमस्टेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शिलालेख अनावरण गरेर उद्घाटन गरे। पोखराको पृथ्वीचोक, विजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडा, तालबेँसी हुदैँ १४ सय मिटर उचाइको स्याक्लुङ्कोट करिब ४० मिनेटमा पुग्न सकिन्छ। यो गाउँ निकै पुरानो हो।
तत्कालीन बेलायती राजकुमार चाल्र्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउँमा बास बसेका थिए।यहाँबाट मनोरम अन्नपूर्ण हिमश्रृङ्खला र पोखरातर्फको मनोरम दृष्य देख्न सकिन्छ। सडक र खानेपानीको समस्याले स्थानीय बसाई सरेर बजार झर्न थालेपछि डिठ्ठा गाउँ रित्तिने अवस्थामा पुगेको छ। ८५ घरधुरी रहेको स्याक्लुङ्कोटमा अहिले १७ घरधुरी मात्रै रहेको स्थानीय बताउछन्।
अहिले भने गाउँमा पुग्ने अधिकांस सडक पक्की भएको छ, भने थोरै मात्र सडक कच्ची छ। लिफ्टिङ गरेर घरघरमा धारामा पानी पुर्याइएको छ। अहिले भएका घर पनि बसाई जाने र गाउँ रित्तिने चिन्ताले होमस्टे सञ्चालन गर्न लागिएको क्याप्टेन तेजबहदुर गुरुङ बताउछन्।
होमस्टे सञ्चालनले गाउँमा रहेका स्थानीयको आयआर्जन बढाउने र बजार झरेका पनि फर्कने वातावरण बन्ने गुरुङको अपेक्षा छ। ‘गाउँ सबै खाली भयो, खेतबारी बाँझो’ भयो होमस्टे सञ्चालन गरेर केही गर्न किन्छ की भनेर होमस्टे सञ्चालन गर्न गइरहेका छौँ ’, उनले भने।
५ घरबाट होमस्टे सुरुवात गरिएको छ। एक रातमा ३० देखि ३५ जनालाई राख्न सक्ने क्षमता रहेको स्याक्लुब्कोट होमस्टेका अध्यक्ष चन्द्रप्रसाद गुरुङले बताए। स्थानीय उत्पादन पर्यटकलाई खुवाउने र आयआर्जन बढाउने उद्धेश्यले होमस्टे सञ्चालनमा ल्याइएको हो।
होमस्टेको उद्धघाटन गदैँ मन्त्री गुरुङले नेपालको विशेषता अनुसारको विकासको खाँचो रहेको बताए। समृद्ध मुलुक र सुखी नेपाली बनाउन सबैभन्दा भरपर्दो माध्यम भनेको पर्यटन रहेको उनको भनाई थियो ।
‘अब आत्मनिर्भरतातर्फ जानुपर्छ समृद्ध देश सुखी नेपाली अबको हाम्रो यात्रा हो। त्यो यात्राको सबैभन्दा भरपर्दो भनेको पर्यटन विकास हो ’, उनले भने।
होमस्टे उद्धघाटन कार्यक्रममा बोल्दै रुपा गाउँपालिका- ७ का अध्यक्ष कृष्णराज सुवेदीले स्थानीय उत्पादनर संस्कृत प्रवद्धन गर्दै पर्यटकलाई गाउँमा ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा तमु धिँ नेपालकी प्रथम उपाध्यक्ष गिमाया गुरुङ, समाजसेवी नारायण कुमार श्रेष्ठ, नेपाली कांग्रेस रुपा गाउँपालिका अध्यक्ष विमलबाबु न्यौपाने, नेपाली कांग्रेस रुपा गाउँपालिका-७ का अध्यक्ष अर्जुन श्रेष्ठ, स्याक्लङ्कोट तमु समाज अध्यक्ष धनकुमारी गुरुङ र कमला गुरुङले स्याक्लङ्कोटका समस्या र सम्भावनाबारे भनाई राखेका थिए।
