
काठमाडौँ । यतिबेला पहाडका जंगलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले ‘काफल पाक्यो’ भनेजस्तै सुनिन्छ। काफल पाकेकै पनि हुन्छ। काफल पाकेपछि बनजंगल हराभरा हुन्छ। चराचुरुङ्गी रमाउँछन्। उनीहरुले चारोको लागि अन्यत्र जानुपर्दैन। यस्तै बुझाई छ।
नेपाली समाजमा प्रचलित एउटा लोककथा छ, चारोको खोजीमा चाराले आफ्ना बच्चाहरु छाडेर अन्तै गएको। पछि जंगलमा काफल पाक्यो। ति बच्चाहरुले चारोको खोजीमा गएका आफ्ना बुवालाई बोलाए, ‘काफल पाक्यो, काफल पाक्यो’ भन्दै। काफल हिमालय क्षेत्रको सस्कृतिसँग जोडिएको फल हो। यसलाई पवित्र फल मानिन्छ। काफलसँग जोडिएका केही लोक कथा नेपाल तथा भारतमा समेत प्रचिलत छ।
काफल पाक्यो
तराईंमा जति-जति गर्मीको राप चढ्दै जान्छ, पहाडका जंगलमा काफलको रंग पनि चढ्न थाल्छ। हो त, यतिबेला बनजंगलमा काफल पाक्न थालेको छ। बैजनी रातो रंगको काफल स्वादिलो पनि उत्तिकै। काफल जंगली फल हो। जंगली फल भनेपछि यसमा पूर्णत जैविक हुने नै भयो। यसलाई फलाउन, बढाउन र भण्डारण गर्न कुनै रसायिनक पदार्थको प्रयोग गर्नुपर्दैन। त्यही कारण काफल खान डराउनुपर्दैन।
मौसमी फल
स्वस्थ्यका लागि मौसमी फल अनिवार्य मानिन्छ। जुन मौसममा जे फल्छ, त्यही फल खानुपर्छ। भण्डारण गरिएको, वेमौसमी फल सेवन त्यती उपयुक्त हुँदैन। अतः काफल अहिलेको मौसमी फल हो। यतिबेला बनजंगलबाट टिपेर ल्याइएको यो फल गाउँ-शहर जतापनि पाइन्छ । फल स्वादिष्ट मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ।
यो जंगली फल बेचेर कतिपय भेगका बालबालिकाले कपी-कलम जोहो गरिरहेको खबर सुनिन्छ। यसैगरी कतिपय गृहणी एवं महिलाहरुले काफलको विक्रीबाटै मनग्ये आम्दानी लिएको पनि सुनिन्छ। काफलको व्यवसायिक खेती नभएपनि यो जंगलमा प्रशस्तै पाइन्छ।
काफलको औषधीय गुण
काफल अमिलो-गुलियो एवं रसिलो फल हो। यो फलले जिब्रो मात्र लोभ्याउँदैन, यसमा औषधिय गुण पनि हुन्छ। विभिन्न समस्यामा काफलको दाना, बोक्रा प्रयोग गर्न सकिन्छ।
ज्वरो आएमा, घाँटीको समस्या भएमा, दम बढेमा, रगतको कमी भएमा काफलको सेवन उपयोगी हुन्छ। खाना अरुची भएमा काफलको सेवनले लाभ मिल्ने बताइन्छ। साथै मधुमेह रोगको लागि पनि यो रामबाण हो। आयुर्वेद विशेषज्ञहरुले यसमा एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइने बताएका छन्। यस फलको सेवनले मुटु लगायत क्यान्सर रोगको जोखिम कम गर्ने बताइन्छ।
कानको रोग, आँखाको रोग, अनियमित मासिक स्राव, टाउको दुखाई आदिमा काफलको धुलो, बोक्रा आदिको औषधी बनाएर सेवन गर्दा लाभ मिल्ने बताइन्छ। यसैगरी दम, नपुंशकतामा समेत काफल उपयोगी हुन्छ। बाहिरी घाउचोट निको बनाउन काफलको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ।
काफल र गीत-संगीत
काफल गीत-संगीतमा पनि प्रयोग हुने शब्दावली हो। हामीले गाउने थुप्रै गीतमा काफलको प्रसंग जोडिएको छ। जस्तो कि, ‘रेली खोला बगर, काफल पाक्यो लहर’, ‘काफल गेडी कुटुक्कै’, ‘काफल पाक्यो होला बनमा’।
