‘वादल’ हत्याकाण्ड : यसरी पक्राउ परे (घटनाबिबरण सहित)

Share:

पोखरा १० भदौ । नेकपा एमालेबाट केहि समय अघि मात्रै नेपाली कांग्रेसमा प्रबेश गरेका विश्वास गौतम र कांग्रेस लेखनाथ नगर सभापतिका दावेदार नारायणहरि तिवारी बिचको टकराबले कांग्रेस नेता रामजी पौडेल ‘वादल’ को ज्यान लिएको खुलेको छ । त्यस्तै हत्या गर्ने र हत्यारालाई भगाउने सबै कांग्रेस भातृ संगठन तरुणदलका कार्यकर्ता भएको पनि खुलासा भएको छ ।

हत्याको १५ दिन पछि प्रहरीले विहिवार पहिलो पटक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको घटना विवरण अनुसार गौतम र तिवारीको आपसी रिसिईवीमा वादलको ज्यान गएको स्पष्ट छ । गौतम र तिवारीको बिचमा पटक–पटक भएको आपसी विवादलाई मिलाउन सक्रिय वादल तिवारीको तर्फबाट गौतमलाई माफि मगाउन चाहन्थे । सामान्य विवादमा गौतमले तिवारीमाथि फलामको रडले हानेको र सोहि घटनालाई मिलाउन सक्रिय हुदा उनको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटना विबरण अनुसार भदौ ५ गते लेखनाथ नगरपालिका वडा नम्बर १२ बि.पि. स्मृति भवनमा ‘तरुणदलको दायित्व र भूमिका बिषयक’ अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने तय भयो । भर्खरै पार्टी परिवर्तन गरी तरुणदलका उपाध्यक्ष बनेका बिश्वास गौतम कार्यक्रम संयोजक हुने पक्का भयो । निमन्त्रणा पत्र पनि सोहि अनुसार छापियो ।

गौतम भर्खरै एमालेबाट नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको र नयाँ मान्छेले ब्यक्तिगत फाईदाको लागि कार्यक्रम गर्न लागेको भनी बाहिर बाहिरै नारायण हरी तिवारले कुरा काट्दै हिडेको गौतमको कानमा प¥यो । सोही बिषयलाई लिएर किन कुरा काट्दै हिडेको हो ? भनेर छलफल गर्न साउन २७ गते बिहान गौतमले तिवारीलाई फोन गरी तालचोक स्थित चियापसलमा बोलाए ।

त्यति बेला कल्याणबाबु भण्डारी, रविन के.सी., बिश्वास गौतम र तिवारी समेत बिहान साढे ८ बजे छलफलमा बसे । तिवारीले आगामी दिनमा गौतमको बारेमा यस्ता किसिमका कुराहरु नगर्ने र गौतमले पनि तिवारी सँग कुनै रिसईवी नराख्ने सहमति भयो र उनिहरु आ–आफ्नो गन्तब्य तर्फ लागे ।

तर छलफलमा बसेर मिलिसकेको कुरालाई तिवारीले पुनः कुरा काट्दै हिडेको भन्ने केहि मानिसले गौतमलाई सुनाए । त्यसपछि जंगिएका गौतमले २७ गते साझ ७ बजे तालचोकमा रहेको चियापसलमा केही कांग्रेसका कार्यकर्ताहरुसंगै बसेको समयमा गएर तिवारीलाई किन मेरो बारेमा कुरा काट्दै हिडेको जति सम्झाए पनि नहुने भनी फलामको डण्डाले कुटे ।

सोहि बिषयलाई लिएर पुनः साउन २८ गते सांझ साढे ७ बजे ले.न.पा. वडा नं. १३ स्थित बुद्दिमान गुरुङको घरमा भेला भई गुरुङ, तिवारी, मनोज गुरुङ, रामजी पौडेल (बादल) प्रकाश गुरुङ, बिश्वास गौतम, राजु रानाभाट, रविन के.सी., शरण प्रधान, मेघराज पौडेल समेत भई विवाद मिलाउने प्रयासमा लागे । कुराकानीकै क्रममा झगडा भएपछि प्रकाश गुरुङले मुख छाड्दै बादललाई मार्ने धम्की दिई राजु रानाभाट, बिश्वास गौतम र रविन के.सी. समेत त्यहाबाट आफ्नो गाडिमा निस्किए ।

त्यसपछि प्रकाश गुरुङ समेत ८ जनाको टोली गगनगौडामा हातमा लाठी बोकी रामजी पौडेल, मनोज गुरुङ र नारायणहरी तिवारी समेतलाई बाटो ढुकेर बसे । तिवारी एउटा र र पौडल गुरुङको मोटरसाईकलमा आउदै थिए । उनिहरुलाई बाटो कुरेर बसेका प्रकाशको टोलीले अन्धाधुन्ध प्रहार गर्न थाले । तिवारी र गुरुङ वाईक चालक भएकाले टाउकोमा लगाएको हेलमेटको कारण जोगिए । गुरुङ र तिवारी घाईते भए । तर पछाडि बसेका वादललाई उनिहरुले निर्ममताको साथ कुटे । आक्रमणबाट वादलको ज्यान गएपछि उनिहरुले राजमार्गबाट केहि तल लगेर शब छोडिदिए ।

स्रोतका अनुसार पौडेलले तिवारीको पक्षमा बोलेका थिए । उनले सामान्य विवादमा पनि सांघातिक आक्रमण गर्नु गलत भएकाले तिवारी सामु गौतमले माफि माग्नुपर्ने बताएका थिए । सोहि भनाईलाई लिएर रिसले चुरिएका प्रकाशले अन्य साथिहरुको साथ लिएर आक्रमण गरेका थिए ।

घटनामा संलग्न सबै तरुण दलको बिभिन्न तहमा रहेका कार्यकर्ता हुन् । त्यस्तै उनिहरुलाई भगाउने काममा संलग्न तनहु, नवलपरासी र रुपन्देहीका सबै त्यहाका तरुण दलकै कार्यकर्ता हुन् । प्रहरीका अनुसार बिभिन्न अपराधिक घटनामा संलग्न भएकाहरुको सम्पर्कको आधारमा च्यानल मिलाएर उनिहरु भाग्न सफल भएका थिए ।

अभियुक्तहरु यसरी पक्राउ परे

प्रहरी स्रोतले बताए अनुसार हत्या लगतै प्रकाश गुरुङले आफ्नो बा १२ च ३२८० नम्बरको कार त्यहि छोडे र विश्वास गौतम सहित भागेर कोत्रे पुगे । कास्की र तनहुँको सिमा कोत्रेबाट उनिहरु दुबैलाई दुलैगौडाका चन्द्र बहादुर थापा मगरले साथ दिए र आफ्नो गाडिमा राखेर नवलपरासी पु¥याए । त्यहा पुगेपछि नवलपरासी गैडाकोटका भरत पौडेलले पनि साथ दिए ।

त्यसपछि पौडेल गुरुङ र गौतमलाई साथमा लिएर भैरहवा पुगे जहा बिरेन्द्र कुमार राना मगर उनिहरुलाई साथ दिन पर्खेर बसेका थिए । प्रकाश, विश्वास , भरत र बिरेन्द्र चार जना मिलेर सुनौली गोरखपुर सम्म पुगे । गोरखपुरबाट भरत फर्किए । त्यसपछि बाकी तीन जना लखनउ तर्फ लागे । लखनउमा पुगेर उनिहरु एउटा होटलमा बसे । हत्यापछि आफ्नी प्रमिका छोडेर गएका प्रकाश त्यहा टिक्न सकेनन् । त्यसपछि उनि पुन पोखरा फर्किए र लेकसाईडको एउटा होटलमा दुई दिन सम्म बसे । त्यति बेला सम्म भरत पौडेल पक्राउ परिसकेका थिए ।

उनकै बयानको आधारमा प्रहरीले प्रकाशको प्रमिकाको बारेमा समेत पत्ता लगायो । भरतले आफुसँगै हुदा पनि प्रमिका सँग अधिकांश समय बिताउने प्रकाशको आनीवानी प्रहरीलाई बताए । प्रमिकाको लागि पोखरा फर्किएर आएको थाहा पाएको प्रहरीले प्रकाशलाई नियन्त्रणमा लिन उनको प्रमिकाकै प्रयोग ग¥यो । प्रमिकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले त्यहिबाट प्रकाशलाई सम्पर्क गर्न लगायो । तर प्रकाशले शंका गरेपछि प्रहरीले उनलाई चारैतिरबाट प्रहरीले घेरेको र आत्मसमर्पण गर्नुनै बेस हुने जानकारी गरायो । त्यसपछि उनले आफु काजिपोखरी स्थित साथिको कोठामा रहेको बताए । र प्रहरीको भनाई अनुसार बाहिर निस्किए अनि प्रहरीले उनलाई भदौ ८ गते पक्राउ गर्न सफल भयो ।

त्यस्तै लखनउमा रहेका बिरेन्द्र राना र विश्वास गौतमको बारेमा प्रहरीले भारतिय प्रहरीलाई जानकारी गरायो । भारतिय प्रहरीले उनिहरु बसेको होटल पत्ता लगाई भदौ ६ गते नियन्त्रणमा लियो र कास्की प्रहरीलाई जानकारी गरायो । प्रहरी टोली सुनौली पुगेर उनिहरु दुबैलाई कास्की ल्यायो ।

घटनामा संलग्न राजु रानाभाट घटनाको भोलिपल्ट साउन २९ गतेनै पक्राउ परेका थिए । त्यस्तै बले भनिने अशोक गुरुङ पनि लेखनाथबाटै पक्राउ परे । हत्यामा प्रत्यक्ष संलग्न रविन केसी सहित झण्डै ५ जना तराईकै जिल्लाहरुमा लुकेर बसेको प्रहरीको आशंका छ । तर अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछानेको पनि अहिले सम्म प्रत्यक्ष कुनै भूमिका नदेखिएको स्रोतले बतायो ।

प्रहरी स्रोतका अनुसार विहिवारको पत्रकार सम्मेलनमा घटनामा प्रत्यक्ष संलग्नताको पुष्टी भएकालाई मात्रै सार्वजनिक गरिएको हो । लामिछानेलाई केहि दिनको अनुसन्धानपछि तारिकमा छाड्ने तयारी भैरहेको स्रोतले बतायो । कास्की कांग्रेसका नेताहरु दिनहु जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर जानकारी लिने गरेका छन् । विहिवार साझ कांग्रेस नेता शुक्रराज शर्मा, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल लगायत कांग्रेस नेता कार्यकर्ता प्रहरी कार्यालय भित्रै दिए । दिनर जिल्ला प्रहरी परिसर बाहिर कांग्रेस, नेता कार्यकर्ताहरुको भिड लागेको थियो ।

Source: पिसपोखराडटकम

कमेन्ट गर्नुहोस्
Share: