
काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताएका छन्। लोकतन्त्र दिवसका अवसरमा बिहीबार भृकुटीमण्डपमा आयोजित युवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले केही मानिसहरूले सामाजिक सञ्जाल प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास गरेको भन्दै यसमा सचेत हुनुपर्ने बताए। उनले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरूले सङ्कल्प र तागत देखाउनुपर्ने बताए।
जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने उनको भनाइ छ।
“देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्। महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन्। ढुक्क हुनुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ,’’ उनले भने।
