
पोखरा। होटल सङ्घ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिन सरकारसँग माग गरेको छ। हान गण्डकीले सडकको निर्माण काम चुस्त बनाउन दबाब सहित विज्ञप्ति निकालेको हो। अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा सडक मार्गको विस्तार र स्तरोन्नतिमा भएको ढिलाइले पर्यटक र समग्र यात्रुले हैरानी खेप्नुपरेको उल्लेख छ।
‘निकै अघि काम सुरु भए पनि स्तरोन्नति कार्यमा देखिएको सुस्तीका कारण पर्यटक र समग्र पर्यटन क्षेत्रले निकै हैरानी खेप्दै आउनुपरेको छ,’ उनले भने, ‘सामान्य यात्रुले पनि यस्तो समस्या दिनहुँ भोग्न बाध्ये छन्। सडक विस्तार कार्यमा भएको ढिलाइ, निर्माणको क्रममा मौसम अनुसार उत्पन्न धुलो र हिलो तथा सडकको उबडखाबडले गर्दा यस खण्ड हुँदै गुड्ने सवारी र तिनमा यात्रारत सेवाग्राहीले ठुलो कष्ट उठाउनु परेको छ। अर्को तर्फ दुर्घटनाको जोखिम त छँदैछ।’
पर्यटन क्षेत्रको विकासका लागि महत्त्वपूर्ण आधारमध्ये कनेक्टिभिटी अर्थात् पहुँचले ठुलो महत्त्व राख्ने भन्दै उनले नेपालमा सडक सञ्जालको काममा हुने ढिलासुस्तीका कारण पर्यटन नै धरापमा पर्न लागेको बताए। गैँडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमी र दाउन्ने-बुटवल दोस्रो खण्ड ४९ किमी विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले चैत २०७५ मा १६ अर्ब ९९ करोडमा रुपैयाँमा ठेक्का लिएको थियो ।
सम्झौताअनुसार साउन ०७९ भित्र काम सकिनुपर्ने हो। तेश्रोपटक थपिएको म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा ६३ प्रतिशत मात्र प्रगति भएको छ। ‘अहिले सहज अवस्थामा त सडक विस्तार र स्तरोन्नती कार्यमा ढिला भएको छ भने बर्खाको समयमा हालत के होला ? सडकको विस्तार कार्यलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई खबरदारी गर्दै स्तरोन्नति कार्य नसकिँदा सम्म विकल्पको खोजी गरी पर्यटक र समग्र सेवाग्राहीलाई सहज यात्राको वातावरण सिर्जना गर्न होटल सङ्घ नेपाल गण्डकी सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
