शिक्षक र सरकारबीचको वार्ता पुगेन् निष्कर्षमा

Share:

काठमाडौँ। आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए।

‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘ हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउने छ।’

उनले अहिले नै आन्दोलन स्थगित भइहाल्ने अवस्था नभएको बताए । तर, केही दिनमा निकास निक्लने तिवारीले विश्वास व्यक्त गरे। कम्तिमा संसदमा विद्यालय शिक्षा विधेयक प्रवेश गर्नुपर्ने र ग्रेडवृद्धि, मर्यादाक्रमलगायतका विषय मन्त्रिपरिषद्बाट निर्णय भएपछि आन्दोलन के गर्ने भन्ने विषयमा सोच्ने सकिने उनको भनाइ छ।

आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघले आफ्नो मागबारे मन्त्री रघुजी पन्तलाई राखेका थिए। मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा आइसकेको छैन। तर, वार्तालाई निरन्तरता दिने सहमति भएको छ।

शिक्षकहरू आन्दोलित भएको आज ८५ औं दिन भएको छ। शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ। लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: