
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
यसका अतिरिक्त नेपालको मौसम प्रणालीमा बंगालको खाडिबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
मंगलबार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
सोमबारको तुलनामा केही कम वर्षा हुनेछ। “हिजोको तुलनामा आज केही कम वर्षा हुनेछ। बंगालको खाडीबाट आएको हावामा जलवाष्प केही कम छ, त्यसैले हिजोको तुलनामा आज कम वर्षा हुनेछ,” मौसमविद् गोविन्द झा भन्छन्, “तर, स्थानीय र पश्चिमी वायु सक्रिय हुँदा ठाउँठाउँमा वर्षा हुनेछ।”
काठमाडौंमा पनि आज अपराह्नपछि वर्षाको सम्भावना रहेको छ। दिनभर बदली हुने र अपराह्नपछि वर्षा हुने उनले जानकारी दिए।
“अपराह्न २ बजेपछि सुरु भएर ६ बजेभित्रसम्म काठमाडौंमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ,” मौसमविद् झाले भने ।
आजको तुलनामा काठमाडौंमा भोलि ठूलो वर्षा हुनेछ। बंगालको खाडीबाट आउने वायुमा जलवाष्प बढी हुँदा आजभन्दा धेरै भोलि काठमाडौंमा वर्षाको सम्भावना रहेको हो।
आजसम्म पूर्व र मध्य तराईमा केन्द्रित रहेको वर्षा भोलिबाट पश्चिम नेपालमा पनि पुग्नेछ। “भोलिबाट वर्षा पश्चिममा पनि हुनेछ,” मौसमविद् झा भन्छन्, “भोलि कर्णाली र सुदूरपश्चिममा पनि वर्षा हुनेछ।”
कोशी, बागमती, गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
मंगलबार राति कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाले जनाएको छ।
कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
