
काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले बिहीबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ। बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको छ। गोरखाको आरूघाटमा पछिल्लो एक घन्टामा १९ मिलिमिटर वर्षा भएको छ।
काठमाडौंमा पनि बिहीबार बिहान छिटपुट वर्षा भएको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ।
त्यस्तै देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात पनि हुने महाशाखाले जनाएको छ।
