
पोखरा । पोखरा महानगरपालिका- ८ को आयोजना तथा नीति एकेडेमी पोखरा-९ को सहकार्यमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम आइतबारदेखि सुरु भएको छ। १५ दिनसम्म सञ्चालन हुने तालिममा १५ जना सहभागी छन्। उनीहरुलाई नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्मर खडायतले तालिम प्रदान गर्नेछन्।
एआई टुल्समार्फत कार्यक्रम शुभारम्भ गर्दै पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले वर्तमान समयलाई ध्यानमा राखेर आयोजित तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गरे। उनले वेव डिजाइन तालिमले युवालाई आत्मनिर्भर बनाउने र रोजगारीको नयाँ ढोका खोल्ने, व्यवसायीलाई आफ्नो व्यापार प्रवद्र्धन गर्न सघाउने विश्वास व्यक्त गरे।
उनले आफैलाई उदाहरण दिँदै भने, ‘मसँग आइफोन छ तर सामान्य कामबाहेक मैले अरु चलाउनै जानेको छैन, अब यससम्बन्धमा हामी जानकार हुन आवश्यक छ।’ कार्यक्रमका अध्यक्षसमेत रहेका पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताए।
उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकासकर्ताको जग बन्नेछन्।” डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बनाउन पनि तालिम महत्वपूर्ण हुने वडाध्यक्ष बरालको विश्वास छ।
नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले वर्तमान समयमा वेव डिजमाइन तालिम जो कसैलाई आवश्यक पर्ने भएकाले आफूहरुले वडासँग मिलेर तालिम आयोजना गरेको बताए । तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै उनले तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाउने र व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।
वडाध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-८ का वडासदस्य गोविन्द बराल, वडासचिव झंकनाथ पौडेल, नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्मर खडायत, पत्रकार हरि पन्तलगायतले बोलेका थिए।
नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ। हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ।
