
पोखरा । त्रिवेणी इन्दरनेशनल कलेज पोखरा महानगरपालिका-२७ ले गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीको सम्मानमा सोमबार स्वागत तथा बधाई कार्यक्रम गरेको छ। प्राडा तिवारी केहीसमयअघि गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका थिए। सम्मान कार्यक्रममा बोल्दै कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमिक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको बताए।
पछिल्लो समय विद्यार्थीको भर्ना र कोर्ष समाप्तीसम्म संख्यामा उल्लेख गिराबट आउने गरेको उल्लेख गर्दै, भर्नाकै संख्या कायम राख्ने तर्फ कलेजहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिए। कुलपति तिवारीले गण्डकी विश्वविद्यालयलाई प्रविधिमा आधारित शिक्षाको हवका रुपमा विकास गर्ने गरी कार्य सुरु भएको उल्लेख गर्दै, थप नयाँ कार्यक्रम ल्याउन छलफल गरिएको बताएका थिए।
यसअघि कलेजका प्राज्ञिक सल्लाहकार समेत रहनु भएका कुलपति तिवारीले अनुसन्धानको क्षेत्रमा त्रिवेणी इन्टरनेशनल कलेजलाई सहयोग गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा कलेजका सल्लाहकार बाबुराम गिरीले कुलपति प्राडा तिवारीले विश्वका विभिन्न विश्वविद्यालयमा अध्यापन गराएको अनुभवले गण्डकी विश्वविद्यालय उत्कृष्ट हुनेमा जोड दिए। कलेजका अध्यक्ष सुमन भट्टराईले प्राडा तिवारीलाई सम्मान गर्दै, त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको कलेज भए पनि शैक्षिक सुधार र अनुसन्धानको क्षेत्रमा सहकार्य गरेर अगाडी बढ्न सकिने बताए।
उनले प्राडा तिवारी कुलपतिमा नियुक्त हुँदा कलेजले एकेडेमिक कोर्षमा थप सल्लाह र सुझाव प्राप्त गर्ने विश्वास व्यक्त गरे। संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले गण्डकी विश्वविद्यालयमा उपयुक्त व्यक्तिको नियुक्ती भएको उल्लेख गर्दै, विद्यार्थी टिक्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए।
कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्राचार्य यदुनाथ आचार्य, सहायक क्याम्पस प्रमख डिल्लीराम पौडेल लगायतले शैक्षिक उन्नयनका लागि सहकार्य गरेर जानुपर्नेमा जोड दिए।
