जन्मदिनको अवसरमा पोखराको जानकी माविमा अक्षयकोष थपिँदै

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा जन्मदिनको अवसरमा अक्षयकोष थपिएको छ । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिन पारेर विद्यालयमा अक्षयकोष स्थापना गरेको हो ।

जन्मदिनमा गरिने फजुल खर्च कटाएर उनले विद्यालयमा अध्ययनरत जेहेन्दार एवम् विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्धेश्यका साथ २१ हजार १ सय २१ रुपैयाँ बराबरको चेक प्रदान गरे । विद्यालयमा आयोजित एक कार्यक्रमबिच सुहार्द भण्डारीले प्रधानाध्यापक अर्जुन कडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

अक्षयकोषको रकम सानो भएपनि जन्मदिनका अवसरमा अन्य खर्च कटाएर शैक्षिक क्षेत्रमा सहयोग गर्नुपर्दछ भन्ने सन्देश मुलक भएको बताइएको छ । सो अवसरमा विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका ४७ जना विद्यार्थीलाई
विद्यालय व्यवस्थापन समितिका सदस्य सञ्चारकर्मी हरि बास्तोला, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी लगायतले स्वागत गरेका थिए ।

स्थानीय एलेक्स शर्मा भण्डारीले आफ्नो जन्मदिनका अवसरमा विद्यालयमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुका साथै विद्यार्थीलाई १० हजार मुल्यको शैक्षिक सामाग्री वितरण गरेका थिए ।

२०३५ सालमा स्थापना भएको सो विद्यालयमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गुणस्तरीय शिक्षामा जोड दिएको कारण संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ्गले जानकारी दिए ।

विद्यालयमा विभिन्न संघसंस्था एवम् शिक्षाप्रेमी व्यक्तित्वबाट १५ लाखभन्दा बढीको अक्षयकोष स्थापना भएको छ । उक्त रकमको ब्याजबाट प्रत्येक बर्ष जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको उनको भनाई छ ।

विद्यालयमा पढदै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामाग्री बनाउने तालिम सञ्चालन भईरहेको छ । उक्त कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले पाँच लाख रुपैया बजेट विनियोजन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: