
पोखरा। मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान, पोखराको आयोजनामा सामुदायिक विद्यालयस्तरीय कविता प्रतियोगिता हुने भएको छ।
पोखराका महानगरपालिका- १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा माछापुच्छ्रे गाउँपालिका- २ सार्दिखोलामा रहेको माछापुच्छ्रे मावि गरी ९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका संयोजक पत्रकार यदुनाथ बन्जाराले बताए।
जेठ ९ गते तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माविमा हुने प्रतियोगितामा पोखरा- १६ मा रहेको विन्ध्यवासिनी मावि बाटुलेचौर, इन्द्रराज्यलक्ष्मी मावि लामाचौर, अन्नपूर्ण आवि अर्मला, ज्ञानज्योती मावि छहरेपानी र शान्ती मावि जुम्लेटी यस्तै पोखरा- १९ मा भारती भवन मावि पुरन्चौर , महेन्द्र मावि घार्मी, बिन्धेश्वरी मावि तल्लाकोट सहभागि हुनेछन्।
खुल्ला कविता प्रतियोगितामा प्रत्येक विद्यालयबाट २/२ जना विद्यार्थीले सहभागिता जनाउन सक्ने गरी प्रबन्ध मिलाइएको प्रतिष्ठान सचिव रामप्रसाद पौडेलले बताए।
मोफसलमा रहेर साहित्य, कला र संस्कृतिको जगेर्ना र प्रवर्द्धनमा सकृय रहदै आएको शुक्ला साहित्य प्रतिष्ठानले साहित्यको विकास र उन्नयनमा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेको छ।
साहित्यको विकाश गर्न विद्यालयलाई जगको रुपमा लिइएको र साहित्य सम्बन्धी विभिन्न कार्यक्रमहरु आलोपालो गरिने नीति लिइएको प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बताइन्।
कविता प्रतियोगिता सम्पन्न गर्न यदुनाथ बन्जाराको सयोजकत्वमा लक्ष्मी देवकोटा र प्रकाश अधिकारी सदस्य रहेको समिती गठन गरिएको छ। साहित्य कला र धर्म सस्कृतिको प्रवर्द्धनका लागि स्थानिय र प्रदेश सरकारले बजेटको प्रबन्ध मिलाउन सकेमा देश र जनताले महसुस गर्ने गरि उपलब्धी दिन सकिनेमा दुई मत छैन।
आगामी आवको बजेटमा बजेट विनियोजन गर्न दुबै तहको सरकारलाइ अनुरोध गर्ने प्रतिष्ठानका उपाध्यक्ष दिपेन्द्र बानियाँले बताए। प्रतिष्ठानले हरेक भाद्र कृष्ण जन्माष्टमीको दिन राष्ट्रिय स्तरको कृष्ण भजन प्रतियोगीता गर्दै आईरहेको छ।
