पोखराको सर्वेश्वर मार्ग र पराजुली मार्गका २९ जना व्यवसायी भ्रमणमा

Share:

पोखरा। पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायी उत्तरी छिमेकी जिल्लामा व्यापार प्रवद्र्धनका लागि निस्केका छन्। सो क्षेत्रका व्यवसायीको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीको टोली व्यावसायिक भेटघाट, अन्र्तक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो।

समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ। टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर र नयाँपुल, बागलुङको बागलुङ बजार, म्याग्दीको बेनी, दरबाङ र तातोपानीमा पुगेर त्यहाँका व्यवसायीसँग भेटघाट तथा अन्र्तक्रिया गर्ने अध्यक्ष थापाले जानकारी दिए।

मुस्ताङको जोमसोम पुगेर व्यवसायीहरुसँग भेटघाटसँगै अन्र्तक्रिया गरिने उनले बताए। त्यसपछि उत्तरी नाका कोरला पुगेर व्यापारिक सम्भावनाबारे अवलोकन गरेर फर्किने उनको भनाइ छ। ‘उद्योग व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरण गर्न जिल्ला भ्रमणमा निस्केका छौं’, उनले भने।

२०७५ सालमा पनि सर्वेश्वर मार्ग-पराजुली मार्गका व्यवसायी कोरला नाकासम्म पुगेका थिए । २०८१ सालको नयाँ क्यालेन्डर लिएर त्यस क्षेत्रका व्यवसायी पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम हुँदै स्याङ्जामा व्यापार प्रवद्र्धनका लागि गएको थिए।

सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामान, काँचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका वरिष्ठ उपाध्यक्ष छविलाल गौतमले बताए।

कमेन्ट गर्नुहोस्
Share: