
पोखरा । सडक आश्रित व्यक्तिहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि पोखरा महानगरपालिकाले मानवसेवा आश्रमसँग सहकार्य गर्ने भएको छ।
बुधबार ‘नेपाललाई २०८२ भित्र सडक मानवमुक्त घोषणा’ गर्ने आश्रमको लक्ष्यसँग सहमत जनाउँदै महानगरले आवश्यक समन्वय र सहयोग गर्न तत्पर रहेको बताउँदै महानगर प्रमुख धनराज आचार्यले प्रतिबद्धता गरे ।
मानवता प्रवर्द्धनको अभियानमा हातेमालो गर्न महानगर दृढ रहेको उल्लेख गर्दै प्रमुख आचार्यले पोखराको छोरेपाटन र हेमजामा सञ्चालित आश्रमको व्यवस्थापन तथा सेवा विस्तारका लागि महानगरबाट आवश्यक साझेदारी हुने बताए।
पर्यटन राजधानीमा सडक मानवको उपस्थितिले सामाजिक मर्यादामा प्रभाव पार्ने हुँदा उनीहरूको सम्मानजनक व्यवस्थापनमा महानगर गम्भीर रहेको उनको भनाइ छ।
यसैगरी उपप्रमुख मन्जुदेवी गुरुङले मानवसेवा आश्रमको कार्यको प्रशंसा गर्दै पोखरा सडक मानवमुक्त घोषित भए पनि समयसमयमा देखिने समस्याको तत्काल समाधानमा आश्रमको सक्रियता महत्त्वपूर्ण रहेको बताइन्।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले ‘मिसन २०८२’ अन्तर्गत नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ कार्य अघि बढिरहेको जानकारी दिए।
आश्रमले पछिल्ला १२ वर्षमा औसत दैनिक तीन जनाका दरले ११ हजार ५१४ जनाको उद्धार गरिसकेको उनको भनाइ छ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेता राधिका कुमारी शाही योगी, वडा अध्यक्षहरू प्रकाशमान उदास, राम मोहन आचार्य, रुद्रनाथ बराल, दीपेन्द्र मर्सानी, शिवप्रसाद तिमिल्सिना, हिमलाल बराल, दुर्गा सुवेदी लगायत महाशाखा प्रमुखहरूको उपस्थिति थियो।
