शुक्ला साहित्य कविता प्रतियोगितामा बिन्ध्यवासिनी मावि प्रथम

Share:

पोखरा। शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको सामुदायिक माध्यमिक विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा बिन्ध्यवासिनी माध्यामिक विद्यालय बाटुलेचौरका प्रजिना छन्त्याल प्रथम भएकी छिन्। प्रतियोगितामा विन्ध्येश्वरी माध्यमिक विद्यालय तल्लाकोटका स्वस्तिका खड्का द्वितीय, माछापुच्छ्रे माध्यमिक विद्यालयका आयुष विकले तेस्रो स्थान र भारतीभवन माविका कैलाश तिवारीले सान्त्वना स्थान हासिल गरेको प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले जानकारी दिए।

प्रतियोगितामा ८ वटा सामुदायिक विद्यालयका १६ जनाले सहभागीता जनाएका थिए। कविता प्रतियोगितामा साहित्यकार शिव त्रिपाठी, असफल गौतम र इन्दु भट्टराईले निर्णायकको भुमिका निर्वाह गरेका थिए। उत्कृष्ट विद्यार्थीलाई कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, शिक्षा अधिकृत जीवन ज्ञवाली, प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी वस्नेत गौतम र कार्यक्रम संयोजक यदुनाथ वञ्जराले नगदसहित पुरस्कृत गरे।

पुरस्कारको राशि नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार र प्रमाणपत्र रहेको थियो। यसअघि कार्यक्रमको उद्घाटन गर्दै शिक्षा महाशाखा प्रमुख आचार्यले सामुदायिक विद्यालयलाई लक्षित गरि सृजनात्मक कार्यक्रम आयोजना गरेकोमा आयोजक सस्था शुक्ला साहित्य प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै यस्ता सृजनात्मक कार्यक्रमको निरन्तरताको कामना गरेका थिए।

विशेष अतिथि शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले विद्यालयमा साहित्य कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै साहित्यिक गतिविधिलाई निरन्तरता दिन आग्रह गरेका थिए। सोही अवसरमा शुक्ला साहित्य प्रतिष्ठानकी सदस्य तथा अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको सञ्चालिका सारदादेवी बस्नेतले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा बिन्धेस्वरी मावि तल्लाकोटमा ५१, १५ १रुपैयाँ राशिको अक्षयकोष स्थापन गरेकी छन्।

गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहायताको लागि आफ्नो वैवाहिक उत्सवको दिन अक्षय कोष स्थापना गरिएको बस्नेतले बताइन्। प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गीता भण्डारी र सञ्चालन सचिव रामप्रसाद पौडेलले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: