ब्रेक फेल भएर बस दुर्घटना, शिक्षकसहित दुई जनाको मृत्यु

397
0
Share:

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भई यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ भएको दुर्घटनामा चार जना घाइते समेत भएका छन् ।

गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसले सडकमा हिँडिरहेका पैदलयात्रुहरूलाई ठक्कर दिएको थियो । बस थाहा नगरपालिकाका उप-मेयर भरत गोपालीको घरभित्र पसेको थियो ।

दुर्घटनामा परेर हिँडिरहेका पैदलयात्रुहरू थाहा नगरपालिका वडा नम्बर ९ का लेखापढी व्यवसायी ४० वर्षीय कृष्ण बलामी र सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय लोकेन्द्र कुमार ठाकुरको उपचारको क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ठाकुर झम्केश्वरी माविमा शिक्षकको रूपमा कार्यरत थिए।

त्यस्तै झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादव (अन्दाजी ३५ वर्ष) र शिखरकोट मालपोत कार्यालयमा कार्यरत कमलेश कुमार साह दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ का छेयाङ दोर्जे लामा (३२ वर्ष) र बारा कोल्बी नगरपालिका वडा नम्बर १ का रामगुलाम चौधरी (३० वर्ष) सामान्य घाइते भएका छन्। उनीहरूको उपचार पालुङको प्राथमिक स्वास्थ्य केन्द्रमै भइरहेको छ।

बस दुर्घटनापछि चालक थाहा नगरपालिका-५ निवासी २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: