
रञ्जन अधिकारी पोखरा, १८ भदौ / गत असार १४ गते रातिको अविरल वर्षाले जमिन भाँसिदा घर नै छाड्न बाध्य बनेका ४६ घर परिवारले आफुहरुलाई सुरक्षित बासको व्यवस्था गरिदिन माग गरेका छन् ।
पोखरा १४ चाउथे स्थित रातोडाँडामा रहेका ८४ घर मध्ये ४६ घर प्रभावित भएको थियो । डाँडा नै भाँसिदा अधिकांश घर चिराचिरा बनेर भत्किएका छन् । १३ घर पूर्ण रुपमा क्षति भएकाले उनीहरु घर नै छाडेर पोखरा झरेर डेरा खोज्न बाध्य भएको स्थानीयबासीले बताए ।
सार्वजनिक जग्गा नै भएपनि सबै भूमिहीन भएको र बसोबास गरेको पनि दुई दशक वितिसकेकाले राज्यले सुकुम्बास हुन् भन्दै पन्छिन नमिल्ने एक पीडित दिपक लामाले बताए । बिग न्युजसँग कुरा गर्दै उनले प्रशासनले सुकुम्बासीहरुलाई केहि गर्न नमिल्ने बताएको उल्लेख गरे ।
उनले विहीबार प्रमुख जिल्ला अधिकारीसँगको भेटमा पनि प्रजिअ राउतले सरकारले सार्वजनिक जग्गामा बसेकालाई उठाउने नीति लिएकोले केहि गर्न नसक्ने बताएको उनले जनाए ।
मंगलबार विहानै वडा स्थित पार्टी प्रतिनिधिलाई बस्तीको निरीक्षण गराएको र लगत्तै पोखरा उपमहानगरपालिका कार्यालयमा जानकारी गराएपनि केहि नभएको उनीहरुको गुनासो छ । ‘टोल विकास संस्था पनि गठन भएको छ । जग्गा सरकारी नै भएपनि हामी भुमिहीनले प्रयोग गरेको २० वर्ष पुग्न लाग्यो होला’ – अर्का पीडित चन्द्रबहादुर सारुमगरले भने– हामीलाई सरकारले यस्तै अर्को जग्गा उपलब्ध गराएपनि हुन्थ्यो ।’
अब पनि वर्षा जारी रहे रातो डाँडा नै भासिने र त्यो पहिरोले धेरैलाई असर पुग्ने भएकाले तत्काल जमिन भासिनबाट जोगाउन स्थानीय प्रशासनले पहल गर्नुपर्ने अर्का स्थानीय राजराम दाहालले बताए ।
