
पोखरा। एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट आयोजकले २१ लाख रुपैयाँभन्दा बढी बचत गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबाट २१ लाख १ हजार ६ रुपैयाँ बचत गरिएको जानकारी दिएको हो।
संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार प्रतियोगिताबाट कुल १ करोड ७१ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको थियो भने १ करोड ५० लाख ८८ हजार रुपैयाँ खर्च गरिएको थियो। आम्दानीतर्फ टिकट बिक्रीबाट मात्रै ५७ लाख ३९ हजार ४४६ रुपैयाँ संकलन गरिएको छ। त्यस्तै, मुख्य प्रायोजक एनसेलले १७ लाख, सह-प्रायोजक सुश्री मिडिया प्रालिले १६ लाख, गण्डकी प्रदेश खेलकुद परिषद् र पोखरा महानगरपालिकाले १०/१० लाख रुपैयाँ योगदान गरेका थिए।
प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनका लागि २२ लाख ३९ हजार रुपैयाँ खर्च गरिएको थियो। सहभागी टिमको व्यवस्थापनमा नेपाली टोलीका लागि २४ लाख १० हजार र विदेशी टोलीका लागि ३५ लाख १७ हजार रुपैयाँ खर्च भएको अध्यक्ष शर्माले बताए।
बचत भएको रकम सामाजिक सेवा, स्वास्थ्य, शिक्षा र खेलकुद अभियानमा खर्च गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ। यसै सन्दर्भमा टाइगर ग्रुपले गण्डकी प्रदेश खेलकुद परिषद्को खेलाडी कल्याणकारी कोषमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ।
गत माघ १२ देखि २० गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सम्पन्न प्रतियोगितामा भारत र थाइल्यान्डसहित पुरुष र महिला दुवैतर्फ ६/६ टोलीले सहभागिता जनाएका थिए। नेपाल भलिबल संघको संयोजनमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले उपाधि जितेका थिए।
