
पोखरा। रोटरी क्लब अफ पोखरा न्युरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाँडाकुडा वितरण गरिएको छ।
बिहीबार आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागीमध्ये जेष्ठ नागरिकलाई २००० वाट क्षमताको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको सेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रममा बोल्दै कोइरालाले, सुरुआती चरणमा विद्युतीय चुल्हो प्रयोग गर्न केही कठिनाइ हुन सक्ने भएकाले इलेक्ट्रिसियनको सहयोग लिन सुझाव दिए। साथै, ग्यास र दाउरा तुलनामा बिजुलीबाट खाना पकाउन सस्तो पर्ने जानकारी समेत दिए।
पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले, रोटरी क्लबसँग सहकार्य गर्दै आफ्नो वडालाई धुवामुक्त भान्सामा रूपान्तरण गर्ने अभियानमा सामेल हुन पाएकोमा गर्व लागेको बताए। उनले वातावरण संरक्षण गर्दै आफ्नै देशमा उत्पादन भएको विद्युतको सदुपयोग गर्नु सबै नागरिकको दायित्व भएको पनि उल्लेख गरे।
रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्माले, आगामी वर्षभित्र वडा नं. २२ का सबै घरधुरीलाई विद्युतीय चुल्हो तथा आवश्यक किचन सामग्री वितरण गरी वडालाई पूर्णतः धुवामुक्त बनाउने लक्ष्य रहेको जानकारी दिए।
कार्यक्रम क्लब अध्यक्ष दिपेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, क्लबका पूर्व अध्यक्षहरू सुवास सिग्देल र गिता सिग्देल, तथा कार्यक्रम संयोजक प्रेमप्रसाद शर्माले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव वर्षा केशव पराजुलीले गरेकी थिइन्।
