गण्डकीको नियमावलीले देश हल्लियो, सोमबारदेखि सार्वजनिक यातायात बन्द हुने

Share:

पोखरा। गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायी तथा मजदुर संगठनहरू आन्दोलित भएका छन्। आठवटा यातायात व्यवसायी महासंघ र मजदुर संगठनहरूको साझा संगठन सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति-२०८२ ले जेठ १९ गते, सोमबारदेखि मुलुकभर सार्वजनिक यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।

संघर्ष समितिले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारको निर्णय संविधान र सवारी ऐनको विरुद्ध रहेको आरोप लगाएको छ। साथै, निर्णय तत्काल खारेज गर्न माग गर्दै, आन्दोलनको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गण्डकी प्रदेश सरकारले लिनुपर्ने चेतावनी दिएको छ।

संविधान र ऐनको उल्लङ्घनको आरोप

समितिका अनुसार, निजी प्रयोजनका लागि खरिद गरिएका १० वर्षभन्दा पुराना दुईपांग्रे र १५ वर्षभन्दा पुराना चारपांग्रे सवारीसाधनलाई भाडाका सवारी सरह सञ्चालन गर्न दिने नियमावलीले सार्वजनिक यातायात प्रणाली नै ध्वस्त पार्ने खतरा छ। विज्ञप्तिमा उल्लेख गरिएको छ कि गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ (६) र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(१०) र दफा १२(१०) उल्लङ्घन गर्दै मन्त्रिपरिषद्को निर्णयमार्फत राइड सेयरिङ नियमावली ल्याएको हो। नियमावली २०८२ साल जेठ १ गते राजपत्रमा प्रकाशित भएको थियो।

सुनुवाइ नभएपछि आन्दोलनको घोषणा

संघर्ष समितिले सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर ग्यारेजमै सवारीसाधन थन्क्याउँदै देशव्यापी सवारी बन्दमा उत्रन लागेको जनाएको छ। साथै, यस आन्दोलनका कारण आम नागरिक, यात्रु, मजदुर, कर्मचारी, विद्यार्थी लगायत सबै सेवा प्रयोगकर्तालाई पर्न जाने असुविधाप्रति दुःख व्यक्त गर्दै, सार्वजनिक यातायात जोगाउन ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।

सातबुँदे माग र थप आन्दोलनको चेतावनी संघर्ष समितिले सातबुँदे मागपत्रसहित आन्दोलनको घोषणा गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यदि सरकारले समयमै हाम्रो माग सुनुवाइ गरेन भने, आन्दोलनको स्वरूप थप कठोर बनाइनेछ। हामी सार्वजनिक यातायात जोगाउने लडाइँमा छौं र सम्पूर्ण नागरिक समाज तथा सरोकारवाला निकायको समर्थन अपेक्षा गर्छौं।”

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने प्रमुख व्यक्तित्वहरू

सार्वजनिक यातायात क्षेत्रका आठ प्रमुख व्यवसायी र मजदुर संगठनका नेताहरूले संयुक्त रूपमा उक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

डा. डोलनाथ खनाल – अध्यक्ष, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल

विजय बहादुर स्वर – अध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

हिरालाल श्रेष्ठ – अध्यक्ष, नेपाल यातायात व्यवसायी महासंघ

भिमज्वाला राई – अध्यक्ष, ढुवानी व्यवसायी महासंघ नेपाल

दीपक के.सी. – अध्यक्ष, नेपाल यातायात स्वतन्त्र मजदुर संघ

सराज भण्डारी – अध्यक्ष, अखिल नेपाल यातायात मजदुर संघ

रवि के.सी. – अध्यक्ष, नेपाल यातायात मजदुर संघ

एकीकृत समाजवादी यातायात मजदुर संगठनका प्रतिनिधि

कमेन्ट गर्नुहोस्
Share: