कमल थापा पक्राउ, सांसद सिंह हिरासतमा, लोकतन्त्रको अपमान भन्दै सोमबार उपत्यका बन्दको चेतावनी

Share:

काठमाडौं । राजतन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आज सम्पन्न शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले गरेको बल प्रयोग र दमनको कडा शब्दमा निन्दा गर्दै सोमबार (जेठ १९) का लागि उपत्यका बन्दको घोषणा गरेको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा आन्दोलन पूर्णतः शान्तिपूर्ण भएको स्पष्ट पारिएको छ। तर, त्यसक्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि अमानवीय व्यवहार गर्दै पक्राउ गरेको भन्दै घटनाको तीव्र विरोध गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनकै क्रममा अध्यक्ष थापालाई प्रहरीले जसरी अमानवीय तरिकाले पक्राउ गर्‍यो, त्यसको हामी घोर निन्दा गर्दछौं।”

सांसदको गिरफ्तारीप्रति आक्रोश

अध्यक्ष थापालाई हिरासतमा भेट्न गएका प्रतिनिधिसभा सदस्य तथा राप्रपाका नेता दीपक सिंहलाई समेत प्रहरीले संसदीय मर्यादाको उल्लंघन गर्दै हिरासतमा लिएकोप्रति समितिले गम्भीर आपत्ति जनाएको छ। संयोजक सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन्, “सरकारको यो कार्य लोकतन्त्र र संसदीय परम्पराको ठाडो उल्लंघन हो। यसले सरकार लोकतान्त्रिक मूल्य र मान्यता विपरीत गइरहेको स्पष्ट संकेत गर्दछ। यो संविधान, नागरिक अधिकार र कानुनी शासनको खिल्ली उडाउने कृत्य हो।”

तत्काल रिहाइको माग, आन्दोलन थप सशक्त बनाउने चेतावनी

राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपक सिंहसहित आन्दोलनमा सहभागी अन्य नेताहरू, कार्यकर्ताहरू र समर्थकहरूलाई संविधानप्रदत्त अधिकार प्रयोग गर्दै गरेको अवस्थामा पक्राउ गरिएको भन्दै संयुक्त जनआन्दोलन समितिले उनीहरूको तत्काल रिहाइको माग गरेको छ।

सरकारको दमनकारी रवैयाले आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य बनाएको उल्लेख गर्दै संयोजक सुवेदीले सोमबार उपत्यका बन्दको घोषणा गरेका छन्। साथै, उनले आन्दोलनमा सहभागी सबै सहयोद्धाहरुलाई आ-आफ्ना टोल र चोकमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

प्रहरी हस्तक्षेपका क्रममा घाइते भएका आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समितिले आन्दोलन अझ थप सशक्त र संगठित रूपमा अगाडि बढाउने चेतावनीसमेत दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: