नटुक्रने निर्णयपछि बाग्लुङ बन्द फिर्ता

Share:

बाग्लुङ, भदौ २०-
प्रमुख तीन दलले बाग्लुङ जिल्लालाई विभाजन नगरी प्रदेश नम्बर चारमा राख्ने सहमति गरेपछि दुई हप्तादेखिको बन्द फिर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले बाग्लुङ जिल्लालाई विभाजन नगरी प्रदेश नम्बर चारमा राख्ने गरी संविधानको परिमार्जित विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रमुख दलले संशोधन प्रस्ताव दर्ता गरेसँगै बाग्लुङमा भाद्र पाँच गतेदेखिको बन्द फिर्ता भएको हो ।
यसअघिको संघीय प्रदेशको सीमांकनमा बाग्लुङलाई चार र पाँच नम्बर प्रदेशमा राख्ने निर्णयको विरोधमा बाग्लुङ बन्द गरिएको थियो । बन्द फिर्ता लिए पनि संविधानसभामा दर्ता भएको जिल्ला अखण्ड राख्ने संशोधन प्रस्ताव दुई तिहाईले पारित नहुञ्जेलसम्म अन्य रचनात्मक दबाबका कार्यक्रम भने जारी राखिने संघर्ष समितिले जनाएको छ ।
बन्द फिर्ता भएपछि बिहानैदेखि बजार, यातायात, शिक्षण संस्था, उद्योग कलकारखाना सबै खुलेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: