
गोरखाबजार, भदौ २०
भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका विद्यार्थी बिरामी पर्न थालेका छन् । एकपछि अर्को विद्यार्थी बिरामी परेको हिमालय उच्च माध्यमिक विद्यालयका शिक्षक रामकुमार घलेले जानकारी दिए । हिमालय उमाविमा अध्ययनरत १५ जनाभन्दा बढी विद्यार्थी बिरामी भएका हुन् ।
विगत एक सातादेखि कक्षाकोठामा नै पढिरहेको अवस्थामा एकाएक बेहोस हुने विद्यार्थीको संख्यामा बृद्धि भएको छ । छात्रामा बेहोस हुने समस्या देखापरेको र एकै विद्यार्थी पटकपटक बेहोस हुने गरेको शिक्षक घलेले बताएका छन् । अहिलेसम्म कक्षा १० मा अध्ययनरत विद्यार्थी दिलकुमारी गुरुङ, कोपिला गुरुङ, कक्षा १२ मा पढिरहेकी अञ्जु गुरुङ लगायत विद्यार्थीमा बेहोस हुने समस्या देखापरेको छ ।
गत आइतबारबाट विद्यार्थीहरु पढ्दा पढ्दै बेहोस हुन थालेका हुन ।’ उनले भने – ‘अहिले आएर त्यो संख्यामा बृद्धि आएको छ ।’ बिरामी विद्यार्थीलाई सामान्य उपचारपछि घर पठाइएको छ । भुकम्पपछि आएको तनावले यस्तो भएको हुनसक्ने शिक्षकहरुले अनाुमान गरेका छन् ।
अर्का शिक्षक जनी घलेले सन्तुलित भोजनको अभावले गर्दा महिला तथा विद्यार्थी छात्रामा शारीरिक समस्या देखिएको हुन सक्ने बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले समस्या समाधानका लागि चिकित्सकको टोली परिचालन गरिएको बताए ।
मानसिक समस्याका कारणले गर्दा बेहोस हुने समस्या देखिएको भन्दै अधिकारीले मनोपरामर्शदाता खटाएको जानकारी दिएका छन् । यसअघि बारपाकमा फैलिएको कमलपित्त रोग भने अहिले नियन्त्रणमा आएको बताइएको छ ।
