
पोखरा । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका-५, पिपलटारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १५० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन्। पिपलटार युवा क्लबको आयोजनामा, रिभान फार्मेसी तथा कन्सेप्ट मेडिको कन्सर्न प्रालिको सहकार्यमा शनिबार सम्पन्न उक्त शिविर सफलरूपमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा निवर्तमान संघीय सांसद केदार सिग्देलले ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सक पुगेर सेवा दिनु पुण्यको काम भएको बताउँदै, समाजसेवामा युवा पुस्ताको संलग्नता प्रेरणादायी रहेको उल्लेख गरे।
शिविरमा घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा, ऋषिङ गाउँपालिकाका कार्यपालिका सदस्य विजय दरै, जय दुर्गा माध्यामिक विद्यालयका प्रधानाध्यापक कुलबहादुर दरैलगायतले क्लबको कार्य प्रशंसनीय र अनुकरणीय रहेको बताए।
क्लबका अध्यक्ष अनिल पाटा मगरले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै संघ-संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सामाजिक कार्यमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
कालीगण्डकी नदी किनारको पिपलटारमा सम्पन्न शिविरमा ऋषिङको दरै गाउँ, पिपलटार, रुपटार तथा घिरिङको उम्से, करुवाटार, जितपुर लगायतका स्थानका सेवाग्राहीहरूले लाभ लिएका थिए। शिविरमा दन्त, जनरल मेडिसिन, हाडजोर्नी तथा नशासम्बन्धी स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो।
कार्यक्रममा कन्सेप्ट मेडिको फार्मा प्रालिका मनोज सुवेदी, मेडिकल चिकित्सकहरू, महिला स्वास्थ्य स्वयंसेविका शुशिला गिरी, सोमकुमारी थापा, बिमला आले तथा दरबारथोक मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। क्लबका अध्यक्ष अनिल पाटा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यमबहादुर पाटा मगरले गरेका थिए।
