पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

Share:

पोखरा। नेसनल स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गर्न लागेको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ को तयारी पूरा भएको छ। अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा राष्ट्रिय स्तरका ६ महिला भलिबल टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र नयाँ टोली स्टेप रामपुर रहेका छन्। प्रारम्भमा समावेश नेपाल आर्मी क्लबले अन्तिम समयमा सहभागिता नजनाउने भएपछि स्टेप रामपुरले अवसर पाएको नेसनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटन खेल गण्डकी प्रदेश र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबबीच हुनेछ। राउन्ड रोबिन लिग आधारमा सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

सहभागी टोलीहरूले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ। “नेपालको राष्ट्रिय खेल भलिबलको विकास र व्यावसायिक उचाइमा पुर्‍याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौं,” अध्यक्ष कोइरालाले बताए। उनले प्रतियोगिता महिला भलिबल खेलाडीको क्षमता पहिचान र प्रवर्द्धनमा कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे।

कोइरालाले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, आगामी फागुन महिनासम्म पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको बताए। उद्घाटन कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने लिग चरणका अन्य खेलहरूका लागि २ सय र फाइनल खेलका लागि ४ सय रुपैयाँको टिकट दर निर्धारण गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: