पोखरामा सुनचाँदी व्यवसायीसँग ५० लाख ठग्ने प्रयास, एक महिलासहित तीन जना पक्राउ

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं. ४ मा रहेको एक सुनचाँदी पसलका सञ्चालकसँग ५० लाख रुपैयाँ बार्गेनिङ गर्दै धम्की दिएको अभियोगमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक महिला सहित मोरङ र संखुवासभाबाट आएका दुई पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, सो सुनचाँदी पसलमा काम गर्ने एक महिलाले आफ्ना दुई जना पुरुष साथीहरूलाई सम्पर्क गरी उक्त व्यवसायीसँग रकम असुल्न योजना बनाएकी थिइन्। महिलाले आफ्ना साथीहरूलाई “मेरो साहुले ममाथि यौन दुर्व्यवहार गरेको छ, त्यसवापत ५० लाख रुपैयाँ माग्नुपर्छ” भन्दै पोखरा बोलाएकी थिइन्।

तीनै जना मिलेर सुनचाँदी पसल सञ्चालकको श्रीमतीलाई पोखरा-६, लेकसाइडस्थित एक होटलमा बोलाई जीवनभरको सम्पत्ति, घर तथा व्यवसायको प्रवन्ध मिलाइदिन दबाब दिएका थिए। साथै, यदि माग अनुसार रकम नपाएमा उनका श्रीमानविरुद्ध विभिन्न मुद्दा मामिला लगाएर सडाइ दिने धम्कीसमेत दिएका थिए।

उक्त सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मरियम राई (२७), पोखरा-१५ टुटुङ्गा, देव लिम्बु (३८), मोरङ बिराटनगर, र टेकबहादुर सुवेदी (४०), संखुवासभा सभापोखरी लाई पक्राउ गरेको हो।

पक्राउसँगै बरामद गरिएका सामाग्रीहरूमा ३ थान मोबाइल, बार्गेनिङ गरिएको अडियो सहितको १ थान पेनड्राइभ, एक्सर्टसन (आपराधिक लाभ) सम्बन्धी कागजातहरू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार तीनै जनालाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी “आपराधिक विश्वासघात तथा आपराधिक लाभ (Extortion)” सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीका अनुसार यस्ता किसिमका घटना पछिल्ला समय बढ्दै गइरहेका छन् भन्दै नागरिकलाई सतर्क रहन अपिल समेत गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: