पोखरामा ‘पर्यटकमैत्री बसपार्क’ निर्माणतर्फ पहल, टेन्डर प्रक्रिया सुरु

Share:

पोखरा। नेपाल सरकारले पोखरालाई औपचारिक रूपमा “पर्यटनको राजधानी” घोषणा गरिसकेको सन्दर्भमा, अब यहाँका पर्यटकहरूको सहज आवागमनका लागि पर्यटकमैत्री बसपार्क निर्माणको प्रक्रिया तीव्र पारिएको छ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्रबैंक चोकस्थित बसपार्कलाई सुविधा सम्पन्न र केवल पर्यटकका लागि समर्पित विशुद्ध पर्यटक बसपार्कको रूपमा सञ्चालन गर्ने उद्देश्यले टेन्डर प्रक्रिया अघि बढाइएको छ।

नेपाल भ्रमण वर्ष १९९८ को अवसरमा पर्यटन व्यवसायीहरूको विशेष पहलमा उक्त बसपार्कको सुरुवात गरिएको थियो। नेपाल पर्यटन बोर्ड, विभिन्न पर्यटक संघसंस्थाहरू तथा व्यवसायीहरूको सहकार्यमा तारबार जस्ता आधारभूत संरचना निर्माण गरी देशकै पहिलो पर्यटक बसपार्कको रूपमा सञ्चालनमा ल्याइएको थियो।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा हालको नयाँ संरचना निर्माण गरिएको हो। पोखरामा अन्य दुई वटा सार्वजनिक बसपार्कहरू सञ्चालनमा रहेकाले राष्ट्रबैंक चोकस्थित बसपार्कलाई विशुद्ध पर्यटक बसपार्कका रूपमा मात्रै प्रयोग गर्ने गरी निजी व्यवसाय सञ्चालन तथा टिकट काउन्टर खोल्न नपाइने सर्तसहित टेन्डर आह्वान गरिएको छ।

पोखरा पर्यटन परिषदले यस निर्णयको स्वागत गर्दै, सर्तहरूको पालना सुनिश्चित गर्दै बसपार्कलाई गुणस्तरीय र पर्यटकमैत्री रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। परिषदले पोखरा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै बसपार्क विकासलाई एक महत्वपूर्ण अवसरको रूपमा लिएको बताएको छ।

परिषदले सरोकारवाला निकायहरू-पोखरा उपत्यका नगर विकास समिति, स्थानीय सरकार, पर्यटन व्यवसायी र समुदायलाई आपसी समन्वयमार्फत पर्यटकमैत्री वातावरण निर्माण गर्न आह्वान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: