
कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले बोलाएको छ। गत मङ्गलवारको कार्यक्रमको नयाँ शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएपछि उनलाई प्रधानमन्त्रीको कार्यालयबाट बोलावट आएको हो।
उक्त शृङ्खलामा राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदहरू डा तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगीलाई अतिथिको रूपमा निम्त्याएर रमाइला तथा व्यङ्ग्यात्मक कमेडी गरिएको थियो।
जसमा प्रधानमन्त्रीप्रति पनि व्यङ्ग्य गरिएको थियो । यही विषयलाई लिएर लिएर निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव अरुण लम्सालले बोलाएका हुन्।
निर्देशक भण्डारीले प्रधानमन्त्री कार्यालयबाट बोलावट आए पनि सामान्य कुराकानी भएको बताए। ‘मैले कार्यक्रमका लागि बोलाएको होला भन्ने ठानेको थिएँ,’ भण्डारीले भने ‘सामान्य भेटघाट र कुराकानी भयो।’
केही नयाँ कार्यक्रमको आइडियाबारे पनि छलफल भएको उनले बताए। कुराकानीको अन्तिममा भने प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन अनुरोध गरिएको उनले जानकारी दिए।
