
पोखरा। पोखराको दीर्घकालीन, समावेशी र नवप्रवर्तनमुखी विकासका लागि नेपाली कांग्रेस कास्कीले नयाँ विकास अवधारणा सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दै गरेको महानगरपालिकालाई योगदान पुर्याउने उद्देश्यसहित बिहीबार अवधारणा सार्वजनिक गरिएको हो।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालका अनुसार वडा सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पर्यटन तथा उद्योग व्यवसायीलगायत पाँच सयभन्दा बढी व्यक्तिसँगको छलफलपछि अवधारणा तयार गरिएको हो। उनले यो अभियान कांग्रेसको मात्र नभई समग्र पोखरेलीको भएकाले यसलाई राजनीतिक सीमाभन्दा माथि राखेर बुझ्न आग्रह गरे।
शिक्षा र सीप विकासमा नयाँ दृष्टिकोण
‘एक विद्यालय, एक उद्यम’, ‘जीवन सीप प्रयोगशाला’ र ‘त्रिकोण शिक्षा परियोजना’ जस्ता कार्यक्रममार्फत शिक्षामा व्यवहारिकता, युवालाई आत्मनिर्भर बनाउने लक्ष्य र शिक्षा, सीप तथा रोजगारीबीच समन्वय गर्ने सोच प्रस्तुत गरिएको छ।
स्मार्ट, हरित र सुशासित सहरको परिकल्पना
स्मार्ट यातायात योजनामा नो–कार जोन, इ–भेइकल प्राथमिकता, साइकल र पैदलयात्री प्रवर्द्धन तथा ट्राफिक व्यवस्थापन सुधार समेटिएको छ। वडास्तरमा कम्पोष्ट मल केन्द्र स्थापना, शहरी कृषि र फोहोर व्यवस्थापनसँगै पोषणीय उत्पादन प्रवर्द्धन गर्ने कार्यक्रम समावेश छन्।
संस्कृति र पर्यटनमा नवप्रवर्तन
सांस्कृतिक डिजिटलीकरण, ‘ज्ञान-नवप्रवर्तन-संस्कृति केन्द्र’ स्थापना, मेडिकल तथा वेलनेस टुरिजम, साहसिक खेल महोत्सव, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जस्ता योजनामार्फत पर्यटन पुनरुत्थानको बाटो खुलाउने लक्ष्य लिइएको छ। फेवाताल संरक्षण र व्यवस्थापनमा सन्तुलित दृष्टिकोण
सरकारी मापदण्ड अनुसार संरचना व्यवस्थित गर्ने क्रममा स्थानीय व्यवसायीको सामाजिक-आर्थिक अधिकारको रक्षा गर्दै इको-रेस्टुरेन्ट, ग्रीन क्याफे, सोलार बोटिङ स्टेशनजस्ता सेवाहरू पुनः डिजाइन गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।
समावेशी उत्पादन चक्रको प्रस्ताव
‘गाउँ-सहर साझेदारीमा आधारित उत्पादन चक्र परियोजना’ले शहरी तथा ग्रामीण अर्थतन्त्रलाई एकीकृत गर्ने महत्वाकांक्षी प्रयासका रूपमा अघि सारिएको छ। सभापति बरालले कास्की कांग्रेसले प्रस्तुत गरेको यो अवधारणा कुनै औपचारिक प्रतिवेदनमा सीमित नभई व्यावहारिक, कार्यान्वयनमुखी र भविष्यदृष्टि सहितको नीति निर्माणको खाका भएको दाबी गरे। पोखराको आगामी नीति तथा कार्यक्रम बनाउने क्रममा विचार, दृष्टिकोण र सहभागिता अनिवार्य भएको भन्दै उनले चेतावनी पनि दिए, “सोचबिनाको खर्च, योजना विनाको बजेट र परामर्शबिनाको निर्णयको विपक्षमा कांग्रेसले सशक्त आवाज उठाउनेछ।”
