बागलुङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

Share:

पोखरा । गण्डकी प्रदेशको बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित भएको छ। यससँगै गण्डकी प्रदेशमा बागलुङ तेस्रो जिल्ला बनेको हो, जसलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता दिइएको हो। यसअघि म्याग्दी र मनाङले सो उपाधि प्राप्त गरिसकेका छन्। शुक्रबार आयोजित औपचारिक कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका थिए। उनले जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

३ हजारभन्दा बढी बालबालिकाले पाए पूर्ण खोप

जिल्लामा १३ देखि २३ महिनासम्मका ३,०९८ बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेका छन् भने ० देखि १५ महिनासम्मका ३,५५२ बालबालिकाले नियमित रूपमा खोप लगाइरहेका छन्। दसवटै पालिकामा शतप्रतिशत बालबालिकाले समयमै खोप प्राप्त गरेपछि बागलुङलाई यो उपलब्धिमा पु¥याइएको हो।

कार्यक्रममा मन्त्री पाठकले मातृशिशु मृत्युदर घटाउन तीन तहको सरकारले हातेमालो गर्दै खोपको दिगोपनामा जोड दिनुपर्ने बताए। उनले प्रदेशभित्रको स्वास्थ्य सेवा सुधार गर्न पालिका स्तरीय अस्पतालहरूलाई प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिए। उनका अनुसार धौलागिरि प्रादेशिक अस्पताललाई १०० शैयाको अस्पताल बनाइएको छ, र यही वर्षदेखि नर्सिङ पढाइ सुरु गरिनेछ। भविष्यमा उक्त अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने दीर्घकालीन योजना रहेको पनि उनले बताए।

त्यस्तै गोरखा अस्पतालमा हेल्थ असिस्टेन्ट (HA) को पढाइ सुरु गरिने र नवलपुर अस्पतालमा प्राविधिक शिक्षाको व्यवस्था मिलाउने तयारी रहेको जानकारी पनि मन्त्री पाठकले दिए। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार, सबै पालिकाबाट खोपको लक्ष्य प्राप्त गरिएको छ। ताराखोला गाउँपालिकामा १६-२३ महिनाका ७० बालबालिकाले, बरेङमा ५०९, काठेखोलामा २०७, बडिगाडमा ३५५, निसीखोलामा ३७७, तमानखोलामा ११४, बागलुङ नगरपालिकामा ४५९, जैमिनीमा २२६, गलकोटमा ३२७, ढोरपाटनमा ४५४ बालबालिकाले पूर्ण खोप लगाएका छन्।

०-१५ महिनाका बालबालिकाको खोप अवस्था पनि उल्लेखनीय रहेको छ। कार्यक्रममा खोप अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने १० पालिकाका १० जना स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: