
पोखरा । पोखरा घुम्न आएकी एक महिलाको मध्यरातमा होटलको छतबाट खसेर ज्यान गएको छ। पोखरा-६, लेकसाइडस्थित होटल रुद्राक्षको पाँचौं तलाबाट खसेर रुपन्देही, बुटवल उपमहानगरपालिका-१०, रानीवन निवासी ३२ वर्षीया सरीता भण्डारीको मृत्यु भएको हो।
गएराति करिब १२ बजे होटलको छतबाट खसेकी भण्डारीलाई तत्काल उद्धार गरी गण्डकी मेडिकल कलेज पुर्याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार सरीता भण्डारी जेठ २९ गते आफ्ना श्रीमान् र दुई नाबालक छोरासहित पोखरा घुम्न आएकी थिइन्। घटनापछि उनका श्रीमान्लाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ। दुई नाबालक छोरालाई भने आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाको कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
