
पोखरा। धादिङका विजय रानामगरले दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि जितेका छन्। रानामगरले कुल २५ लूप (२५ घण्टा) मा १६७.५५ किलोमिटर दौड पूरा गर्दै उपाधि हात पारेका हुन्। उनी अब सन् २०२७ मा अमेरिकामा हुने अन्तर्राष्ट्रिय ब्याकयार्ड अल्ट्रा दौडमा नेपालको तर्फबाट सहभागी हुनेछन्। विजेताले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
फिट नेपालको आयोजनामा पोखराको भलाममा सम्पन्न प्रतियोगिता शनिबार बिहान ८ बजे सुरु भई आइतबार बिहान ९ बजेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा नेपालसहित विभिन्न देशका ५२ जना धावकले सहभागिता जनाएका थिए।
दौडका निर्देशक जितेश प्रधानले ब्याकयार्ड अल्ट्रा एक अनौठो र अत्यन्तै चुनौतीपूर्ण दौड भएको बताएका छन्। उनका अनुसार, सहभागीहरूले प्रत्येक घण्टामा ६.७०५ किलोमिटरको दूरी तय गर्नुपर्छ, जुन एक लूप हो। प्रत्येक लूप १ घण्टाभित्र पूरा गर्नुपर्ने अनिवार्यता रहन्छ। यो दौड तबसम्म चल्नेछ जबसम्म अन्तिम एक जना धावक मात्र बाँकी रहन्छ।
प्रतियोगितामा मिलन कुलुङले पनि २४ लूप पूरा गरेका छन्। आयोजकका अनुसार उनी पनि अन्तर्राष्ट्रिय ब्याकयार्ड अल्ट्रा दौडमा सहभागी हुनेछन्। महिला धाविका पदम कुमारी सुनुवारले १२ लूप पूरा गर्दै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। महिला र पुरुष एउटै समूहमा सहभागी हुने यो दौडमा, सुनुवारलाई प्रोत्साहनस्वरूप उक्त पुरस्कार दिइएको आयोजक ईश्वर गुरुङले जानकारी दिए।
फिट नेपालका राजीव श्रेष्ठका अनुसार, यस दौडमा सहभागीहरूले प्राकृतिक सौन्दर्यसँगै जंगली जनावर र चराचुरुङ्गीको आवाजको आनन्द लिन सक्नेछन्।
ब्याकयार्ड अल्ट्रा दौड सन् २०१० मा अमेरिकाका ग्रे सेन्ट्रेलले सुरु गरेका थिए। नेपालमा यसको पहिलो संस्करण गत माघ महिनामा भक्तपुरमा सम्पन्न भएको थियो, जसमा अर्जुन कुलुङ राईले २१ लूप पूरा गर्दै उपाधि जितेका थिए।
श्रेष्ठका अनुसार, प्रतियोगिताको उद्देश्य नेपालमा सहनशील र प्रतिस्पर्धी धावक उत्पादन गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी तयार पार्नु हो।
