
पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकालाई कस्तो र कसरी बनाउने भन्ने विषयमा तयार पारेको अवधारणापत्र आइतबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बुझाएको छ।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मेयरलाई अवधारणा बुझाएको जानकारी पार्टीका प्रवक्ता नवीन सिग्देलले दिएका छन्।
पोखरा महानगरपालिका आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको तयारीमा जुटिरहेको बेला विभिन्न क्षेत्रका सरोकारवालाबाट संकलित सुझावहरूको समेट निकाल्दै उक्त अवधारणापत्र तयार गरिएको हो। यसअघि कांग्रेस कास्कीले एक पत्रकार सम्मेलनमार्फत उक्त अवधारणा सार्वजनिकसमेत गरिसकेको थियो।
सभापति बरालका अनुसार, “पोखराको दीर्घकालीन, दिगो र योजनाबद्ध विकासका लागि यो अवधारणापत्र उपयोगी हुनेछ।”
अवधारणामा ११ बुँदामा विभिन्न विषयहरू समेटिएका छन्, जसमा पूर्वाधार विकास, वातावरणीय संरक्षण, पर्यटन प्रवर्द्धन, सार्वजनिक सेवा सुधार, स्मार्ट सिटी अवधारणा लगायतका विषय समावेश छन्।
