हेमजामा सरसफाइ कार्यक्रम सम्पन्न, हिले महोत्सवको तयारी तीव्र

Share:

पोखरा । देवीस्थान सेवा समाज, हेमजाको आयोजनामा शनिबार विष्णुपादुका मन्दिर परिसर र वरपरको क्षेत्र सरसफाइ गरिएको छ। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ यही असार १५ गते हुने पाँचौं हेमजा हिले महोत्सव-२०८२ को तयारीस्वरूप यो कार्यक्रम सञ्चालन गरिएको हो।

सरसफाइ कार्यक्रममा हेमजास्थित विभिन्न टोल विकास संस्था, आमा समूह, संघ-संस्था तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। समाजका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार महोत्सवको उद्देश्य विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन गर्नु, आन्तरिक तथा बाह्य पर्यटन प्रोत्साहित गर्नु, कृषकको सम्मान गर्नु तथा युवाहरूलाई कृषिप्रति आकर्षित गर्नु हो।

निवर्तमान अध्यक्ष गुरु हरिशरण पौडेलले विन्दवासिनीकी बहिनीका रूपमा मानिने विष्णुपादुका भगवतीको महिमा उजागर गर्नुका साथै महोत्सवमार्फत हेमजाका कृषकलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे। आकर्षक खेल र सांस्कृतिक कार्यक्रमहरू महोत्सवमा पुरुष तथा महिला रस्साकस्सी, हिले दौड, घैँटो फुटाउने, हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौडजस्ता रमाइला प्रतियोगिता समावेश छन्।

मूल आयोजक समिति संयोजक चन्द्रकला पोखरेलका अनुसार हरेक खेलमा प्रथम र द्वितीय स्थान हासिल गर्ने सहभागी वा टिमलाई पुरस्कार प्रदान गरिनेछ। खेलहरूलाई सभ्य, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले केही प्रतियोगितामा सहभागी शुल्क समेत राखिएको जानकारी खेल उपसमिति संयोजक इन्द्र बहादुर कुँवरले दिएका छन्।

महोत्सव सफल बनाउन उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिसकिएको समाजले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: