
पोखरा। जनप्रिय मल्टिपल क्याम्पस, पोखराले स्नातकोत्तर तह प्रथम सत्रमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शुक्रबार लेकसाइडस्थित लेकसाइड रिट्रिट रिसोर्टमा सम्पन्न भएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र विजुक्छे प्रमुख अतिथि र क्याम्पस प्रमुख कृष्णबाबु लम्साल विशेष अतिथि रहेको कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष विजुक्छेले ३३ वर्षअगाडि स्थापना गरिएको क्याम्पसले आजको जस्तो उच्च रूप लिने कल्पना नगरेको बताए। उनले जनप्रियलाई “जनताको प्रिय” बनाउन विद्यार्थी र शिक्षकको मेहनतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। स्नातकोत्तर तह अध्ययनलाई साधारण उपलब्धि नभएको भन्दै उनले विद्यार्थीहरूलाई गम्भीर, अनुशासित र अनुसन्धानमुखी बन्न प्रेरित गरे।
उनले भने, “मास्टर्स तहको विद्यार्थी राष्ट्रको पूँजी हो, त्यसैले अबको बाटो अझ मिहेनेतको हुनेछ।” उनले नेतृत्व क्षमता विकास, सिर्जनशीलता र उद्यमशीलताको विकासमा जोड दिँदै स्वदेशमै श्रम र लगानी गर्न आग्रह गरे।
सिर्जनशीलता, अनुसन्धान र व्यावसायिकताको जोड
कार्यक्रममा एमबीएका पूर्व को-अर्डिनेटर नेत्रप्रसाद सुवेदीले विद्यार्थीहरूलाई सिर्जनशील, अनुशासित र व्यावसायिक बन्न आग्रह गरे। उनले डिग्री लिनु मात्र उद्देश्य नभई प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गरे।
सुवेदीका अनुसार हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा उच्च सम्भावना रहेको छ र त्यसलाई उपयोग गर्न व्यावसायिकता, विज्ञता र अनुसन्धानको आवश्यक छ। उनले सकारात्मक सोच, व्यवहारिक ज्ञान र सीपलाई भविष्य निर्माणको मूल आधारका रूपमा प्रस्तुत गरे।
जनप्रिय क्याम्पसले आफ्नै पहलमा सञ्चालन गरेको एमबीए इन हस्पिटालिटी म्यानेजमेन्ट र स्नातक तहको ब्याचलर्स इन माउन्टेन टुरिजम म्यानेजमेन्ट (BMTM) कार्यक्रमका बारेमा विस्तृत जानकारी दिइएको थियो।
लक्ष्य, प्रेरणा र सहकार्यको सन्देश
क्याम्पस प्रमुख कृष्णबाबु लम्सालले स्नातकोत्तर विद्यार्थीहरूलाई लक्ष्य निर्धारण गरी त्यसैअनुसार योजना र कार्यमा लाग्न आग्रह गरे। उनले भने, “जीवनमा लक्ष्य बिना गति हुँदैन।” उनले लक्ष्यसम्म पुग्न आवश्यक सकारात्मक सोच, आत्मविश्वास र समस्यासँग जुध्ने क्षमता विकास गर्न विद्यार्थीहरूलाई प्रेरित गरे।
विद्यार्थी प्रतिनिधि अनु खड्काले जनप्रिय मल्टिपल क्याम्पसलाई देशकै उत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा चित्रण गर्दै २०७३ सालदेखि अध्ययनको अनुभव साझा गरिन्। उनले क्याम्पसले शिक्षा मन्त्रालयबाट २०७२ र २०७३ मा, र गण्डकी प्रदेश सरकारबाट २०८१ मा उत्कृष्ट क्याम्पसको मान्यता पाएकोमा गौरव व्यक्त गरिन्।
अभिमुखीकरण र मार्गदर्शन
एमबीए तथा बीएमटिएम कार्यक्रमकी को–अर्डिनेटर विद्यालक्ष्मी चालिसेले स्नातकोत्तर कोर्सबारे अभिमुखीकरण गरिन्। कार्यक्रममा डा. श्रीकान्त खतिवडाले विद्यार्थीलाई आत्मविश्वास विकास गर्न, पाठ्यक्रमको गहिरो अध्ययन गर्न र व्यवहारमा उतार्न सुझाव दिए।
उनले भने, “पढाईमा पास हुनु महत्त्वपूर्ण हो, तर त्योभन्दा ठूलो कुरा हो- पाठ्यक्रमले दिएको जिम्मेवारी पुरा गर्नु।” कार्यक्रम समापनका क्रममा क्याम्पसले विद्यार्थीको क्षमता विकासका लागि हरपल साथ दिने प्रतिबद्धता दोहोर्याएको थियो।
