पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

Share:

काठमाडौं। नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका दुई उपप्रधानमन्त्रीमाथि संसदमा कडा आलोचना गरेका छन्।

राष्ट्रिय सभामा आइतबारको मन्त्रालयगत बजेट छलफलका क्रममा बोल्दै तामाङले उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्ना निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकता दिएको आरोप लगाए।

उनले सिंहले काठमाडौं जिल्लामा २०७ वटा योजनाका लागि तीन/तीन करोडको बजेट विनियोजन गरेको जनाउँदै अन्य जिल्लाहरू उपेक्षित भएको गुनासो गरे। उनले कटाक्ष गर्दै भने, “प्रकाशमान सिंह गणेशमान सिंहका छोरा हो भनेर मात्रै हामी चुप लाग्न सक्दैनौं।”

त्यस्तै, पौडेलको निर्वाचन क्षेत्र रुपन्देहीमा पनि तीन करोडका ७९ वटा योजनाहरू परेको भन्दै तामाङले आपत्ति जनाए। “सहरी विकास मन्त्री र अर्थमन्त्रीबीच मीतको चिनो साटेजस्तो गरी बजेट साटिएको देखिन्छ,” उनले भने।

उनले समग्र मुलुकलाई समान रुपमा हेर्नुपर्ने माग गर्दै भने, “१६५ वटा निर्वाचन क्षेत्रमध्ये केवल दुई ठाउँमा मात्र अर्बौं बजेट, बाँकीलाई उपेक्षा-यो कस्तो शासन पद्धति हो?”

पूर्व ऊर्जा राज्यमन्त्रीसमेत रहेका तामाङले बजेट वितरणमा देखिएको पक्षपातको आलोचना गर्दै आगामी निर्वाचनमा दुवै मन्त्रीलाई पराजय सझाउने चेतावनीसमेत दिए।

“म किताब च्यात्दिनँ, म बौद्ध धर्मावलम्बी तामाङ समुदायको प्रतिनिधि हुँ,” उनले भने, “तर गौतम बुद्ध र पशुपतिनाथलाई साक्षी राखेर कामना गर्छु-२०८४ को निर्वाचनपछि प्रकाशमान र विष्णु पौडेल संसदमा नदेखिउन्।”

कमेन्ट गर्नुहोस्
Share: