पोखरामा पर्यटक गाइड र ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम

Share:

पोखरा । साहसिक पर्यटन गन्तव्यको रूपमा विकास हुँदै गरेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड तथा पोटर गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको छ।

यो तालिम ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा, नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सञ्चालन गरिएको हो। तालिमको एक भागका रूपमा सहभागीहरूलाई पोखरा महानगरपालिका वडा नं. १८ स्थित मेथलाबुङको भिरमा रक क्लाइम्बिङ अभ्यास गराइएको छ।

थ्री सिस्टर्स एड्भेन्चर ट्रेकिङले उक्त भिरलाई रक क्लाइम्बिङ प्रशिक्षण स्थलको रूपमा प्रयोग गर्दै आएको र प्रशिक्षणका लागि उपयुक्त रहेको जानकारी संचालिका लक्की क्षेत्रीले दिइन्।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यका अनुसार, नयाँ युवाहरूलाई पर्यटन क्षेत्रमा आकर्षित गर्नु र स्वरोजगारको अवसर सिर्जना गर्नु तालिमको प्रमुख उद्देश्य हो। उनले भने,”रक क्लाइम्बिङ पनि ट्रेकिङको एक विधा हो, जसलाई पर्यटक गाइडको पेशाको रूपमा विकास गर्न सकिन्छ।”

तालिम प्रशिक्षकहरूमा टान गण्डकीका सहसचिव भूपेन्द्रकुमार लामा र लाक्पा शेर्पा रहेका छन्। प्रशिक्षक लामाले भने, “ट्रेकिङको क्रममा सम्भावित जोखिमलाई ध्यानमा राखी रक क्लाइम्बिङ तालिम दिइएको हो। विश्वभर रक क्लाइम्बिङको लोकप्रियता बढ्दो क्रममा छ र नेपालमा पनि यसप्रति पर्यटकको आकर्षण बढिरहेको छ। यसले नेपालमा व्यवसायिक सम्भावना बोकेको छ।”

प्रशिक्षक शेर्पाका अनुसार, दुई दिने बेसिक रक क्लाइम्बिङ तालिममा २३० प्रशिक्षार्थी सहभागी भएका छन्। २५ दिने तालिम जेठ २६ गतेदेखि सुरु भएको हो। यस तालिममा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरी कुल ३५० जना सहभागी छन्।

कमेन्ट गर्नुहोस्
Share: