श्रम कानून कार्यान्वयन र समस्याबारे पोखरामा छलफल

Share:

पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले श्रमिकका हक-अधिकारप्रति रोजगारदाता संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन्। श्रमिकको सम्मान गरे मात्र उत्पादनशीलता बढ्ने उनको भनाइ छ।

विभागले मंगलबार पोखरामा आयोजना गरेको ‘श्रमसम्बन्धी कानून कार्यान्वयन तथा विद्यमान समस्या’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पाण्डेले श्रमिकका हक-हितको संरक्षणका लागि विभिन्न कानूनहरू रहेको जानकारी दिए। साथै, आफूलाई अन्याय भएको ठानेमा कानुनी उपचारको बाटो अपनाउन मजदुरहरूलाई आग्रह गरे।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पछिल्लो समय श्रम तथा रोजगार क्षेत्र क्रमशः मर्यादित बन्दै गएको उल्लेख गर्दै निजी क्षेत्रका लागि ‘हायर एन्ड फायर’ प्रणाली आवश्यक रहेको धारणा राखे। उनले काममा खटिएका श्रमिकलाई विभिन्न बहानामा दुःख दिने प्रवृत्ति अझै पनि कायमै रहेको गुनासो गरे।

अन्तक्र्रियामा श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख सुरेश ढकाल, रोजगार विभागका अधिकृत चक्र श्रेष्ठलगायत मजदुर संगठनका प्रतिनिधिहरूले पनि विचार व्यक्त गरेका थिए। उनीहरूले अझै पनि श्रमलाई सम्मान गर्ने परम्परा स्थापित नभएको, निर्माण तथा यातायात क्षेत्रका श्रमिकहरूको सुरक्षाको व्यवस्था कमजोर रहेको र कानुनी उपचारमा ढिलाइका कारण श्रमिकहरूले न्याय पाउन कठिनाइ हुने जस्ता समस्याहरू उठाए।

कमेन्ट गर्नुहोस्
Share: